रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि प्यूठानका नौ जना व्यक्ति सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले भदौ २१ गते जारी गर्नुभएको सूचनाअनुसार सम्पर्कविहीन हुनेमा प्यूठान नगरपालिका–१० का पिताम्बर श्रेष्ठ, माण्डवी गाउँपालिका–३ का सूर्यबहादुर केसी, प्यूठान नगरपालिका–७ का सन्तोष पौडेल, झिम्रुक गाउँपालिका–२ का राजेन्द्र महतरा, माण्डवी गाउँपालिका–४ का डुमबहादुर ठेडी, सरुमारानी गाउँपालिका–४ का किसान सोमै मगर, झिम्रुक गाउँपालिका–१ का प्रकाश जिसी, गौमुखी गाउँपालिका–३ का बोमबहादुर पुन र स्वर्गद्वारी नगरपालिका–९ की कृष्णा बुढा मगर रहेका छन्।
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीनमध्ये कोही सम्पर्कमा आएको भए वा अन्य व्यक्ति पनि सम्पर्कविहीन रहेको जानकारी भए कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। कार्यालयका अनुसार डीएनए परीक्षणका लागि सम्पर्कविहीन व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्तको रगतको नमुना संकलन भइरहेको छ।
प्यूठानमा हालसम्म चार जनाको रगतको नमुना संकलन गरिएको छ। संकलित नमुना भदौ २२ गते परीक्षणका लागि पठाउने तयारी रहेको प्रशासनले जनाएको छ। नमुना संकलन गर्न बाँकी आफन्तले जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारीको मोबाइल नम्बर ९८५७८३७०४९ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया