रविन विश्वकर्मा,प्युठान । प्युठानकाे माण्डवी गाउँपालिका २ रातापानीमा मृत अवस्थामा फेला परेका दम्पतीको हत्या गरिएको पुष्टि भएको छ। शनिवार दिउँसो अाफ्नै काेठाभित्र मृत अवस्थामा भेटिएका रातापानी निवासी ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको हत्या भएको पुष्टि गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दम्पती काेठामा मृत अवस्थामा फेला परेकाे घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय प्युठानले अाज बेलुका ५ बजे कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ ।
फागुन ९ गते राति आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।
दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा मृतकहरूको घरबाट करिब ५० मिटर टाढा बारिमा रगतले लतपतिएको घन समेत फेला पारेको छ ।
प्रहरीले घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाएको थियाे । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै खटिनुभएकाे थियाे । मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएका थिए।
प्रतिक्रिया