प्यूठान । नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । पार्टी संगठनको विस्तार, सुदृढीकरण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले शनिबार अभियानको उद्घाटन गरिएको हो ।
झिमरुक गाउँपालिका–५ मच्छीस्थित पार्टीको गाउँपालिका कमिटी कार्यालयमा आयोजित कार्यक्रमको उद्घाटन पार्टीका केन्द्रीय सदस्य तथा झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतराले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै महतराले जागरण अभियानको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिए । पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्ताले पहिले आफ्ना कमजोरीको समीक्षा गर्दै आफूलाई सच्याउन आवश्यक रहेको उनको भनाइ थियो ।
‘यो अभियानमा हामीले सबैभन्दा पहिले आफैँलाई जागृत बनाउनुपर्छ,’ उनले भने, ‘जनताको घरदैलोमा पुगेर आफ्ना गल्ती र कमजोरीको आत्मसमीक्षा गर्ने, सच्चिने र संगठनलाई बलियो बनाउँदै अघि बढ्ने बेला आएको छ ।’
अभियानका क्रममा विभिन्न वडा तथा पालिकास्तरीय भेला आयोजना गर्ने, पार्टी संगठन विस्तार तथा सुदृढीकरण गर्ने र युवाको सहभागिता बढाउने कार्यक्रम तय गरिएको गाउँपालिका कमिटीले जनाएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मिलन एमसी, केन्द्रीय सल्लाहकार समिति सदस्य श्रीकृष्ण रिजाल, लुम्बिनी प्रदेश कमिटी सदस्य तुलस बस्नेत र बसन्तराज पोख्रेललगायत वडा तथा पालिका कमिटीका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीका संयोजक झकबहादुर जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेम पुनले गरेका थिए ।
प्रतिक्रिया