logo

  • २१ कार्तिक २०८३, शुक्रबार | Fri, 06 Nov 2026

  •      Listen Radio Live

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३२ जना घाइते, ११ जनालाई भैरहवा पठाइयो, घाइतेको विवरणसहित

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३२ जना घाइते, ११ जनालाई भैरहवा पठाइयो, घाइतेको विवरणसहित

    प्युठान। अर्घाखाँचीको शितगंगा नगरपालिका–२ खाँचीखोलास्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। दुर्घटनामा बस चालक, मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि सवार बालकसहित ३२ जना घाइते भएका हुन्।

    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार (कात्तिक २० गते) दिउँसो करिब १ बजेर २० मिनेटमा सुपादेउरालीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।

    ब्रेक फेल भएर अनियन्त्रित भएको बसले सोही दिशातर्फ जाँदै गरेको लु ९१ प २३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि बस सडक छेउको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि ठाडा स्वास्थ्य चौकी पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि ११ जनालाई थप उपचारका लागि भैरहवा अस्पताल पठाइएको छ भने अन्य घाइतेको ठाडा स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    को–को भए घाइते?

    प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा घाइते हुनेमा रुपन्देहीको देवदह नगरपालिका–५ का ३२ वर्षीय मदन श्रेष्ठ र बस चालक सोही स्थानका ४४ वर्षीय शेरबहादुर थापा रहेका छन्।

    त्यस्तै, पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्रका विभिन्न उमेर समूहका यात्रुहरू घाइते भएका छन्। घाइते हुनेमा ९० वर्षीया भिमकुमारी ठकुरी, ८७ वर्षीय चन्द्रबहादुर ठकुरी, ७३ वर्षीय कर्णबहादुर थापा, ७१ वर्षीया कमला गौतम, ६८ वर्षीय ध्रुवनाथ कवर, ६५ वर्षीया लबनी कवर, ६१ वर्षीय डिलु भण्डारी, ५५ वर्षीय कृष्ण चापागाईँ, ५२ वर्षीय चेतन ठकुरी, ५० वर्षीया मिना मल्ल, ४८ वर्षीय श्याम बुढाथोकी, ४८ वर्षीय कृष्णनाथ कवर, ४६ वर्षीया हिरामाया थापा, ४५ वर्षीया दुर्गा ठकुरी, ४४ वर्षीया सुनरपती कवर, ४४ वर्षीय कमल थापा, ४३ वर्षीया राम केसी चौधरी, ४२ वर्षीया तिलकुमारी थापा, ३० वर्षीया दिलकुमारी कवर, ३० वर्षीया टिका कवर, २६ वर्षीया जयकुमारी कवर, २२ वर्षीय अस्बिन ठकुरी, २१ वर्षीया सृष्ठी ठकुरी, १६ वर्षीया प्रमिसा गौतम, ९ वर्षीया सुहाना थापा, ९ वर्षीय बिनय कुमाल, ७ वर्षीय रोशन कवर र १८ महिनाका सुजल कवर रहेका छन्।

    यसैगरी दुर्घटनामा मोटरसाइकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१ सुवर्णखालका २१ वर्षीय शुसिल सिजापती र मोटरसाइकलको पछाडि सवार सन्धिखर्क नगरपालिका–७ खाँचीगौचरका १२ वर्षीय मनिष गुरुङ पनि घाइते भएका छन्।

     

    दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।



    mandavionline mandavionline    
  • २१ कार्तिक २०८३ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP