रविन विश्वकर्मा,प्युठान । खलंगामा एक स्वास्थ्य अवधारणा कार्यान्वयन गोष्ठी सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानको आयोजनामा शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा सरोकारवालाहरुको बिचमा अवधारणा सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको हो । एक स्वास्थ्य(वान हेल्थ) जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ र स्वच्छ राख्नको लागि मानिस, पशुपन्छी, वनस्पति र वातावरणबिचको अन्तर सम्बन्धबाट उत्पन्न हुने रोगहरूको पहिचान गर्दै अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्न अन्तर विषयक र बहुपक्षीयरुपमा सहकार्य गर्नुपर्दछ भन्ने एक अवधारणा हो ।
कार्यक्रममा कार्यालयका पशु विकास अधिकृत डाक्टर गणेश बहादुर पुनले एक स्वास्थ्य अवधारणा, लक्ष्य तथा उदेश्यको बारेमा जानकारी गराउदै विश्वमा देखिएका नयाँ रोगहरु मध्ये करिब ७० प्रतिशत रोग पशुपन्छीमा उत्पन्न भई मानिसमा सर्ने गरेको बताउनुभयो । अवस्थित रुपमा गरिने पशुपन्छी पालन,बजारीकरण, मानविय क्रियाकलाप तथा वातावरणीय विनाश लगायतका कारणबाट मानिस, घरपालुवा तथा जंगली जनावरहरुमा नयाँ, पुनः देखापरेका महामारी र जुनेटिक रोगहरुको जोखिम बढ्दै गएको बताउनुभयो । डाक्टर पुनले सावधानी नअपनाइ पशुपन्छीको स्याहार गर्दा पशुपन्छीबाट मानिस र मानिसबाट पशुपन्छीमा सजिलै बिभिन्न प्रकारका रोग तथा संक्रमणहरु फैलिरहेकाले एक स्वास्थ्य अवधारणालाई कार्यान्वयन गर्न सबैले विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले पशुपन्छीबाट मानिसमा सर्ने रोगहरु,देखा पर्ने स्वास्थ्य समस्याका बारेमा स्थानीय तह, सरोकारवाला निकाय सबैको सक्रियतामा बस्ती तथा समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम संञ्चालन गर्न जरुरी रहेको बताउनुभयो । जिसीले हाम्रो आनीबानी तथा सामान्य लापरबाहीका कारण विभिन्न हानी नोक्सानी ब्यहोर्नु परेको उल्लेख गर्दै स्वास्थ्यका मापदण्ड सबैले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानका प्रमुख विनोद शर्माले सरोकारवाला निकायले जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यबिच एकआपसमा नीति नियम कानुन र कार्यक्रमहरू निर्माण गरि पुर्ण कार्यान्वयन गर्न सके पशुपन्छीबाट नयाँ, पुन देखापरेका महामारी र जुनेटिक रोगहरुको रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनुभयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्मा, सुरक्षा निकाय, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,स्थानीय तहका पशु सेवा शाखा प्रमुख, पशु सेवा प्राविधिक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन कार्यालयका पशु सेवा प्राविधिक भरत गिरीले गर्नुभएको थियो ।
प्रतिक्रिया