रविन विश्वकर्मा,प्युठान । प्युठानमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पुर्ण तयारी पुरा भएको छ । भोलिदेखि प्युठान सहित देशैभर संञ्चालन हुन लागेको (एसईई) परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानले जनाएको छ । यस वर्षको परीक्षामा जिल्लाबाट ४ हजार ९ सय ४० जना विद्यार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दुर्गा बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार नियमित तर्फ ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६ जना, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना र २०७८ –०७९ का २० जना ब्याज विद्यार्थी परीक्षामा सहभागी हुदैछन ।
यस वर्षको एसईई परीक्षाका लागि जिल्लामा १७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको सबै तयारी पूरा भएकाले ढुक्क भएर परीक्षा दिन शिक्षा विकास तथा समन्वय इकाई प्रमुख खड्काले आग्रह गर्नु भएको छ । भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखि शुरू हुने छ । परीक्षा आउँदो १९ गतेसम्म चल्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
प्रतिक्रिया