प्यूठान । प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पती मृत फेला परेका छन । रातापानीका ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियार आफ्नै घरको कोठाभित्र मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानमा दुवैको टाउकोमा चोट देखिएको छ । घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोली खटिनुभएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।
घटनाको थप अनुसन्धानका लागि गौतम बुद्ध अन्तराष्ट्रीय विमानस्थल सुरक्षा कार्यालय केनाईन शाखा भैरहवाबाट कुकुर सहीतको टोलि ल्याईदै छ । घटनास्थल प्रहरीले सिल गरेको छ । फागुन ९ गते राति खाना खाएर सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई आज दिउसो साढे १२ बजे मात्र घटनाको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।
प्रतिक्रिया