रविन विश्वकर्मा, प्युठान । प्युठान प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीले चालु आर्थिक बर्षको ६ महिनामा २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ । साउन देखि पुष समान्त सम्म विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका ८५ जना मध्ये २२ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो । सबै भन्दा बढि जबरजस्ती करनि मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ गरेको बताउनुभयो । मासिक पत्रकार भेटघाट कार्यक्रमा बोल्दै प्रहरी नायव उपरीक्षक बस्यालले दोषी ठहर भएर फरार रहेका जबरजस्ती करनि मुद्दाका १३ जना, सवारी ज्यानका ३ जना, बैकिङ कसुरका २ जना, बहु विवाह, कुटपिट, गालिबेईजती र सार्वजनिक अपराधका १÷ १ जना गरी २२ जना प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको बताउनुभयो । न्यूनतम जरिवानादेखि कैद सजायसम्म पाएकाहरु पक्राउ पर्ने गरेका छन् ।
डीएसपी बस्यालले प्युठान जिल्लाको नेतृत्व सम्हालेसँगै एकपछि अर्को गर्दै फरार प्रतिवादी पक्राउ पर्न थालेका छन् । जिल्लामा फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको बस्यालले बताउनुभयो । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उहाँको भनाइ छ । प्रहरीको तथ्यांक अनुसार जिल्लामा अझै बिभिन्न मुद्धामा दोषी ठहर भएका ६३ जना फरार छन् । फरार प्रतिवादीको खोजीलाई निरन्तरता दिइने उहाँले उल्लेख गर्नुभयो । “कैद तथा जरिवाना भुक्तान नगरिकन भागि रहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ”, डीएसपी बस्यालले भन्नुभयो, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।” डिएसपी दिपेश बस्यालले बताए । पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरु सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेको प्रहरीको भनाइ छ ।
सवारी साधन कारबाहीबाट पुष महिनामा मात्रै ४ लाख बढि राजश्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सवारी साधन कारबाहीबाट १ महिनामा ४ लाख बढि राजश्व संकलन गरेको छ । पुष १ गतेदेखि मसान्त सम्म ट्राफिक नियम उल्लघन गरेका सवारी साधनबाट ४ लाख ८३ हजार राजश्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले जानकारी दिनुभयो । कार्यालयको मासिक गतिविधि सार्वजनिक गर्दै ३ सय ९० वटा सवारी साधन कारबाहीबाट राजश्व संकलन भएको बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल, बस, जीप, कार, ट्याक्टर, ट्रिपर लगायतका सवारी साधन कारबाहीमा परेका छन् । ओभर लोड, तीव्र गति, चालक अनुमतीपत्र बिना चलाएकाहरु बढी कारबाहीमा परेका हुन ।
यो आर्थिक वर्षको पुष महिनामा सवारी साधन दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरेको प्रहरी उपरीक्षक बस्यालले बताउनुभयो । विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक सचेतना, व्यवसायी, चालक र परिचालक, सर्वसाधारणलाई ट्राफिक सचेतनाबारे कार्यक्रम सञ्चालन सहित सामुदायिक कार्यक्रमहरु अन्तर्गत बिभिन्न बिषयमा १ सय १७ वटा कार्यक्रम सम्पन्न गरेको बताउनुभयो । पर्चा, पम्पलेट, पोष्टर समेत जिल्लाको विभिन्न ठाउँमा वितरण गरिएको छ । जसले गर्दा जिल्लामा सवारी दुर्घटनामा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया