प्यूठान — नौबहिनी गाउँपालिका–६ माक्रेमा २३ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ। प्यूठान जिल्लाकै अग्लो त्रिशुलका रूपमा माक्रे मन्दिरमा त्रिशुल स्थापना गरिएको हो ।
घोराही उपमहानगरपालिका–६ का वडाध्यक्ष तथा धारापानीस्थित पाण्डेश्वरी मन्दिरका सचिवसमेत रहेका विष्णु आचार्यको सहयोगमा एक क्विन्टल ११ किलो तौलको त्रिशुल स्थापना गरिएको हो ।
मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर केसीले लुङखोला माथि बनेको मन्दिरको थप प्रवर्दन गर्न मन्दिरमा त्रिसुल स्थापना गरिएको बताए । त्रिशूल स्थापनाले माक्रेमन्दिर क्षेत्रको धार्मिक महत्त्व थप उजागर गर्नुका साथै पर्यटक तथा दर्शनार्थीलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
माक्रे मन्दिरमा पूर्णिमाको अवसरमा भोलि साँझ सन्ध्याकालीन आरती, सराय नाच, स्थानीय भजन, भैलोलगायतका कार्यक्रम आयोजना गरिएको नौबहिनी गाउँपालिका–६ का वडाध्यक्ष मानबहादुर केसीले सुनाए । धार्मिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
वडाध्यक्ष केसीले माक्रे मन्दिरको क्षेत्रको विकासका लागि पहल गर्ने बताए । धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिने उनको भनाइ छ।
प्रतिक्रिया