प्युठान, चैत १७ गते।
प्युठान क्याम्पस,खलङ्गा प्युठानमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनबाट निर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ। क्याम्पसमा चैत ५ गते सम्पन्न निर्वाचनबाट ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। नव निर्वाचित पदाधिकारहरुलाई निर्वाचन मण्डलका अध्यक्ष देवीराम वैदिकले सपथ ग्रहण गराउनु भएको थियो।
नवगठित कार्यसमितिको अध्यक्षमा प्रमोद ओली, उपाध्यक्षमा चुमा पुन, सचिवमा सावित्रा नेपाली, सह-सचिवमा रेखा के सी तथा कोषाध्यक्षमा खिमा कुमारी घर्ती मगर चयन हुनुभएको छ। प्रत्यक्ष तर्फ सदस्यहरूमा अनुष्का शाही, आरती थापा मगर र जुना कसाई निर्वाचित हुनुभएको छ भने समानुपातिक तर्फ विशाल सुनार, सपना खड्का र आरती बुढा मगर चयन हुनुभएको छ।
शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित सभापति प्रमोद ओलीले समग्र क्याम्पस र विद्यार्थीहरूको हकहितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै जिल्लाको नामले परिचित प्युठान क्याम्पसलाई थप व्यवस्थित गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र क्याम्पसको भौतिक तथा शैक्षिक सुधारमा पहल गर्ने बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र श्रेष्ठ, क्याम्पस प्रमुख कल्पना खड्काले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो।
कार्यक्रममा क्याम्पस प्रमुख, पूर्व स्ववियु पदाधिकारीहरू,क्याम्पस सञ्चालक समितिका पधाधिकारी, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्ववियुले विद्यार्थीहरूको हकहितका साथै क्याम्पसको समग्र विकासमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन प्राध्यापक विमला श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया