logo

  • ३० आश्विन २०८३, शुक्रबार | Fri, 16 Oct 2026

  •      Listen Radio Live

    रेडियो माण्डवीको २०औँ स्थापना दिवस तथा ग्रामीण सामुदायिक सञ्चार केन्द्रको छैटौँ अधिवेशन सम्पन्न

    रेडियो माण्डवीको २०औँ स्थापना दिवस तथा ग्रामीण सामुदायिक सञ्चार केन्द्रको छैटौँ अधिवेशन सम्पन्न

    प्यूठान । प्यूठानमा २०६४ भदौ २४ गतेदेखि सञ्चालनमा रहेको ग्रामीण सामुदायिक सञ्चार केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो माण्डवी एफएम ९७ मेगाहर्जले आफ्नो २०औँ स्थापना दिवस तथा संस्थाको छैटौँ अधिवेशन विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ। ‘समुदायको आवाज, परिवर्तनको सम्बाहक’ भन्ने मूल नाराका साथ स्थापना दिवस तथा अधिवेशन सम्पन्न गरिएको हो।

    स्थापना दिवसकै अवसरमा ‘सामुदायिक रेडियोको वर्तमान अवस्था, चुनौती, अवसर र आगामी बाटो’ विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष मेघराज भट्ट, पूर्व अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष सञ्जय रिजाल सहभागी भई रेडियो स्थापनादेखि हालसम्म आइपुग्दा संस्थाले भोगेका चुनौती, प्राप्त अवसर तथा सामुदायिक रेडियोको वर्तमान अवस्थाबारे अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो।

    महामानव विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर स्थापना भएको रेडियो माण्डवीले सञ्चालनमा आएदेखि नै स्थानीय समुदायको आवाजलाई प्राथमिकतामा राख्दै सूचना, समाचार, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन तथा सामाजिक सचेतनाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ। स्थानीय नागरिकका सवाल, समस्या र सरोकारलाई प्राथमिकताका साथ उठाउँदै आएको रेडियोले स्थापना दिवसका अवसरमा आफ्ना विगतका उपलब्धि, वर्तमान चुनौती र आगामी कार्यदिशाबारे समेत समीक्षा गरेको हो।

    स्थापना दिवसको उद्घाटन सत्रमा रेडियोका संस्थापक अध्यक्ष मेघराज भट्ट, पूर्व अध्यक्ष तथा स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारी, पूर्व अध्यक्ष तथा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल प्रेस युनियन प्यूठान शाखाका अध्यक्ष मधुसूदन भण्डारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति तथा प्रमुख अतिथि अमरप्रसाद भण्डारीले रेडियोको दीगोपनाका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग र योगदान रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यस्तै, नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सभापति श्रीराम भण्डारीले रेडियो स्थापना भएदेखि यसको संस्थागत विकास र सशक्त सञ्चालनका लागि आफू तथा पत्रकारितामा आबद्ध अन्य सहकर्मीहरूले विभिन्न कालखण्डमा पुर्‍याएको योगदानबारे जानकारी गराउनुभयो।