रविन विश्वकर्मा,प्युठान । प्युठानमा पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले प्यूठान नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय टारीमा आज आयोजित एक कार्यक्रममा स्वस्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । विद्यालयकी कक्षा १० मा अध्ययनरत किशोरी कल्पना परिवारलाई पहिलो खोप लगाई जिल्ला भरको खोप शुभारम्भ गरिएको हो । खोप सामाग्री हस्तान्तरण गर्दै समन्वय प्रमुख जिसीले अभियानमा कुनै पनि लक्षित किशोरीहरु खोप लगाउनबाट नछुटाउन स्वास्थ्यकर्मीहरुलाई अनुरोध गर्नुभयो । अभियान सफल बनाउनु सबैको जिम्मेवारी भएको उल्लेख गदै जिल्लाबासी सबैलाई आ आफुनो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।
माघ २२ देखि २८ गते सम्म जिल्लामा संञ्चालन हुने खोप अभियानमा प्युठानका १३ हजार ७ सय ६३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । जिल्ला भित्रका कक्षा ६ देखी १० कक्षा सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिन लागिएको हो । १५० बिद्यालय तथा ६५ वटा स्वास्थ्य संस्थाबाट ९ स्थानिय तहका बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ५४६ जना छात्रा र बिद्यालय नजाने १० देखि १४ वर्षसम्मका २ सय १७ जना किशोरीहरूलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले जानकारि दिनुभयो ।
उहाँका अनुसार गौमुखी गाउँपालिकामा बिद्यालयमा अध्ययनरत १ हजार ४४८ र बिद्यालय बाहिर रहेका ७७ जनागरि १ हजार ५२५, नौबहिनी गाउँपालिकामा मा १९५६, झिमरूक गाउँपालिकामा १ हजार ४ सय ६९, प्यूठान नगरपालिकामा २५६५, स्वर्गद्वारि नगरपालिकामा १७४६, माण्डवी गाउपालिकामा ११५३, मल्लानी गाउँपालिकामा ९३३, ऐरावती गाउँपालिकामा १००८ र सरूमारानी गाउँपालिकामा १४०८ जना किशोरीहरुलाई खोप दिन लागिएको हो । कार्यालय प्रमुख खडकाले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ जना र औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन पापिलोमा भाइरसको सङ्क्रमणले हुन्छ । नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा छ र विश्वमा चौथो स्थानमा छ ।
प्रतिक्रिया