logo

  • १ जेष्ठ २०८२, बुधबार | Wed, 14 May 2025

  •      Listen Radio Live

    लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ

    लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको शुभारम्भ

    बिजुवार । “हामी सबैको प्रतिवद्धताःलैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता“ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि शुरु भएको छ ।
    अभियानको पहिलो दिनको अवसरमा आज प्यूठान नगरपालिकाका सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ ।

    अभिमुखीकरणमा बोल्दै प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले लैंगिक हिंसा अन्त्यका लागि सरोकारवाला सबै सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले परिवार तथा समुदायस्तरबाट हिंसा न्यूनीकरणमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याउन सरोकारवालालाई पनि आग्रह गर्नुभयो ।

    उपप्रमुख देवेन्द्र बर्माले न्यायीक समितिमा आउने उजुरीमध्यै अधिकांश उजुरी हिंसासँग सम्वन्धित भएको उल्लेख गर्दै हिंसापिडितका लागि सहयोग पु¥याउन प्यूठान नगरपालिकाले कोष स्थापना गरेको जानकारी दिनुभयो । साथै उहाँले हिंसापिडितका लागि मनोविमर्श सेवाका लागि मनोविमर्शकर्ताको समेत नगरपालिकाले सूचीकरण गरेको समेत बताउनुभयो ।

    महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख मञ्जु धितालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारी, इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक चुडामणि पुन, नेपाल पत्रकार महासंघ अध्यक्ष सञ्जय रिजाल, वडा अध्यक्ष साधना रावत, महिला अधिकारकर्मी सरस्वता न्यौपाने, सुन्दरा केसी लगायतले लैंगिक हिंसाले पारेको प्रभाव र न्यूनीकरणका लागि गर्नुपर्ने पहलहरुको विषयमा मन्तव्य दिनुभएको थियो ।

    यही मंसिर १० अर्थात नोभेम्वर २५ देखी डिसेम्वर १० अर्थात मंसिर २५ गते सम्म नगरपालिका भित्रका विभिन्न स्थानहरुमा अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने प्यूठान नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा उपस्थित सबै जनाले सेतो रिवन लगाई मेरो प्रतिबद्धता म हिंसा गर्दिन, म हिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकार गर्नेछु भनेर प्रतिवद्धता गर्नुभएको थियो ।
    कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी, संघसस्थाका प्रतिनिधि लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।



    mandavionline mandavionline    
  • १० मंसिर २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP