logo

  • १६ जेष्ठ २०८३, शनिबार | Sat, 30 May 2026

  •      Listen Radio Live

    बुकीडाँडामा पर्यटन प्रवर्द्धन कार्यक्रम, होमस्टे सञ्चालनको तयारी

    बुकीडाँडामा पर्यटन प्रवर्द्धन कार्यक्रम, होमस्टे सञ्चालनको तयारी

    प्यूठान ।  गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसर पारेर प्यूठानको प्रसिद्ध पर्यटकीय क्षेत्र बुकीडाँडामा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममार्फत बुकीडाँडालाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले समुद्री सतहदेखि १८ सय १० मिटर उचाइमा रहेको बुकीडाँडाबाट गाउँपालिकाका अधिकांश वडा, जिल्लाका विभिन्न भू–भाग तथा मनमोहक हिमश्रृंखला अवलोकन गर्न सकिने बताउनुभयो । उहाँले यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणमा गाउँपालिकाले विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो ।

    “देशका १६५ निर्वाचन रणनीतिक सडकअन्तर्गत प्यूठान र अर्घाखाँची जोड्ने राष्ट्रिय महत्वको सडक यही क्षेत्रबाट गुज्रिएको छ,” अध्यक्ष खड्काले भन्नुभयो, “फुर्सदको समयमा घुम्न आउने आन्तरिक पर्यटकको संख्या पनि पछिल्लो समय बढ्दै गएको छ ।”

    कार्यक्रमका विशेष अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रम बजार केन्द्रित भन्दा पनि पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै मल्लरानी, बुकेनी र बुकीडाँडाजस्ता स्थानमा सञ्चालन गर्दै आएको बताउनुभयो ।

    उहाँले बुकीडाँडा नजिकै रहेको जनजाति बहुल बुकेनी गाउँमा होमस्टे सञ्चालन गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो । “बुकेनीमा मगर समुदाय र नजिकैको टोप्रे गाउँमा गुरुङ समुदायको बाहुल्यता छ,” उहाँले भन्नुभयो, “मल्लरानी र बुकीडाँडाको पर्यटन विकाससँगै स्थानीयको आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालनको तयारी गरेका छौँ ।”

    उहाँका अनुसार होमस्टे सञ्चालनपछि स्थानीय कला, संस्कृति, पहिचान तथा उत्पादनको प्रवर्द्धन हुनुका साथै स्थानीय बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, डिभिजन वन कार्यालय प्यूठान तथा निजी एवं सामाजिक क्षेत्रको सहयोगमा बुकीडाँडामा विभिन्न संरचना निर्माण गरिएको छ । तारबार गरिएको क्षेत्रमा वृक्षारोपण गरी चरिचरण नियन्त्रण गरिएको छ भने पछिल्लो समय सिढी, शौचालय र खानेपानीजस्ता आधारभूत सुविधा विस्तार गरिएको मल्लरानी गाउँपालिका–३ का वडाध्यक्ष नोमराज पौडेल ले बताउनुभयो ।

    गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मल्लरानी गाउँपालिका २ का वडाध्यक्ष लेखबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीराम भण्डारी लगायतले गणतन्त्रका उपलब्धि र बुकीडाँडाको पर्यटन सम्भावनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।



    mandavionline mandavionline    
  • १६ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP