रविन विश्वकर्मा,प्यूठान ।
स्थानीय सरकारमा महालेखा परीक्षकको कार्यालयले उठाएका सवाल र बेरुजु सम्परीक्षणको प्रकृयामा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम खलंगामा सम्पन्न भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशको आयोजनामा अख्तियार खुरुपयोग अनुसन्धाम आयोग, महालेखा परीक्षकको कार्यालयको सहकार्य एवम जिल्ला सम्बन्य समिती प्यूठानको समन्वयमा आज कार्यक्रम सम्पन्न गरिएको हो । स्थानीय तहमा बेरुजुको चाङ बढ्दै गरेको अबस्थामा कसरी बेरुजु घटाउने भन्ने बारे गाउँपालिका महासंघको अगुवाइमा स्थानीय तहसंग छलफल गरिएको थियो । आर्थिक शुसासनका लागि लेखा परीक्षण तथा बेरुजु फरछ्यौट सम्बन्धमा पहिलो पटक पालिकाहरुसंग छलफल कार्यक्रम राखिएको हो ।
कार्यक्रममा पालिका प्रमुख / उपप्रमुखले बेरुजुको अवस्था, बेरुजु सम्बन्धी उठेका सवाल, बेरुजु बढ्नुका कारण, समस्या तथा चुनौती, समपरिक्षणको प्रकृया, महालेखा परीक्षण तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी लगायत अन्य महत्वपूर्ण बिषयमा विभिन्न गुनासो तथा जिज्ञासा राखेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ठाकुरप्रसाद आचार्य तथा महालेखा परिक्षकको कार्यालयका सचिब उपमहापरीक्षक बामदेव अधिकारीले स्थानीय तहमा देखिएका समस्या एवम् समाधानका उपायबारे नीति, नियम तथा कानुनहरु प्रस्तुत गर्नु भएको थियो । उपमहापरीक्षक अधिकारीले पालिकाले प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन तथा कार्यक्रम तय गरे मात्र गुणस्तर र सहज विकास हुने बताउनुभयो ।
अधिकारीले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै देशका अधिकांश स्थानिय तहहरुमा बेरुजु बढ्दै गएको बताउनुभयो । स्थानिय तहरुले सबै कागजात तथा प्रकृया मिलाएर कार्य सम्पादन नगर्दा बेरुजु बढि देखिएको बताउनुभयो । हरेक स्थानिय तहले जवाफदेहि,पार्दशि एवम् मितब्ययी तरिकाले कार्य सम्पादन गरे बेरुजु कम हुदै जाने उहाँको भनाइ छ । स्थानिय तहमा शुन्य बेरुजु हुने गरी काम कारवाहीलाई अगाडि बढाउन स्थानिय तहहरुलाई आग्रह समेत गर्नुभयो ।
गाउँपालिका राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश अध्यक्ष विष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धरम जिसीको प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माको विशेष आथित्यता रहेको थियो । कार्यक्रममा जिल्लाका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन महासङ्घका सचिव झग बहादुर बिश्वकर्माले गर्नु भएको थियो । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशले प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम गर्ने जनाएको छ । यसअघि २६ गते रुकुम पुर्ब र २८ गते रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया