प्युठान, साउन १८ — झिमरुक नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
झिमरुक गाउँपालिका–२ गडेरपानी निवासी डीपाल थापाकी श्रीमती बेदना थापा सोमबार बिहान करिब साढे १० बजे एक महिनाकी छोरीलाई उपचार गराउन भनी बाँदिकोटबाट बुटवल जाने गाडीमा चढेकी थिइन्।
प्रहरीका अनुसार झिमरुक गाउँपालिका–५ ढाड बजार पुगेपछि उनले छिमेकी २० वर्षीय सन्तोष केसीलाई आफ्नो शिशु केहीबेर सम्हालिदिन आग्रह गर्दै जिम्मा लगाएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन बनेपछि घटनाबारे दिउँसो करिब साढे १२ बजे इलाका प्रहरी कार्यालय ओखरकोटमा जानकारी गराइएको थियो।
सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक निर्दोष जिसीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। खोजतलासका क्रममा झिमरुक गाउँपालिका–५ स्थित झिमरुक नदीमा थापा मृत अवस्थामा फेला परेकी हुन्।
घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा अपराध अनुसन्धान (SOCO) टोलीसहित पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको छ।
मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाका सबै पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया