रविन विश्वकर्मा,प्युठान ।
प्यूठानमा भोलि देखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । १२ वर्ष माथिका उमेर समुहका लागि भदौं २६ गते देखी ३१ गते सम्म जिल्लाभर कोभिड १९ बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । पहिले कोभिड १९ बिरुद्धको खोप नलिएका र कम्तीमा पनि १ मात्रा खोप लिएका १२ वर्ष उमेर माथीका व्यक्तिलाई खोप लगाउन लागिएको उहाँले बताउनुभयो । साथै रोगप्रतिरोध क्षमता कम भएका ५ वर्ष भन्दा माथिका बालबालिका, वयस्क र जेष्ठ नागरिक, स्वास्थ्यकर्मी र विरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई समेत यो खोप अभियानको लक्षित जनसंख्यामा राखि कोभिड–१९ विरुद्धको नयाँ खोप तालिका सार्वजनिक गरेको बताउनुभयो । यो अभियानमा पहिलो खोप देखी थप बुस्टर खोप सम्म लगाइने कार्यालयको योजना रहेको छ ।
खोप अभियानका लागि जिल्लामा ४० हजार २० डोज खोप प्राप्त भएको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो । जिल्लाका ६४ वडामा रहेका नियमित खोप केन्द्र र स्वास्थ्य संस्था मार्फत खोप अभियान संचालन हुदै छ । यस अघि कोभिड १९ बिरुद्धको कुनैपनि खोप नलगाएका र कम्तीमा १ मात्रा खोप लगाएर अर्को मात्रा पुरा नगरेका ब्यक्तिले आफूलाई पायक पर्ने खोप केन्द्रबाट खोप लगाउन स्वास्थ्य कार्यालय प्यूठानले आग्रह गरेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार २ लाख ८ हजार ६८८ जनाले पहिलो मात्रा खोप लगाएका छन भने १ लाख ९८ हजार १३ जनाले दोश्रो मात्रा खोप लगाएका छन् । जिल्लामा पहिलो मात्रा खोप सवैले पाएका छन् । ५ वर्ष उमेर माथीका २ लाख १ हजार २५२ जनसङ्ख्या मध्ये त्यो भन्दा धेरैले खोप लगाएको निमित्त कार्यालय प्रमुख खड्काले बताउनुभयो । जिल्लामा पहिलो मात्रा लगाएका ९५ प्रतिशतले दोश्रो मात्रा खोप लगाएका छन् । पहिलो बुस्टर १ लाख २९ हजार ८१२ जनाले लगाएका छन् । दोश्रो मात्रा लगाएका मध्ये ६६ प्रतिशतले मात्र बुस्टर लगाएको स्वास्थ्य कार्यालय प्यूठानको तथ्यांकले देखाएको छ । थप बुस्टर लगाउने ५७ हजार ४२१ जना रहेका छन् । पहिलो बुस्टर लगाएकामध्ये थप बुस्टर लगाउने ४४ प्रतिशत रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
प्रतिक्रिया