रविन विश्वकर्मा,प्युठान । अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम खलंगामा सम्पन्न भएको छ। स्थानीय तह, अपांगता भएका व्यक्ति र नागरक समाजका प्रतिनिधिहरुका लागिकाे लागि एक दिने अभिमुखीकरण दिइएकाे हाे । राष्ट्रिय अपाङ्ग सेवा संघ प्युठानकाे आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वय र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हाे ।
कार्यक्रममा जिल्लामा रहेका अपांगता भएका व्यक्तिले भोग्नुपरेको समस्या, चुनौती र समाधानका उपायका विषयमा छलफल गरिएकाे थियो । कार्यक्रममा अपांगता भएका व्यक्तिले राज्यले प्रदान गर्ने सेवा सुविधा पाउन नसकेकाे गुनासाे गरेका छन्। नेपालकाे संविधानले अपांगता भएका ब्यक्तिहरुकाे लागि निशुल्क उच्चशिक्षा, यातायात ,स्वास्थ्य सेवामा छुट र विशेष सहुलियत,अपांगतामैत्री भाैतिक संरचना लगायतका ब्यवस्था गरेपनि सेवा लिनबाट वञ्चित भएकाे गुनासो गरेका छन् । बनेका ऐन कानुन कागजमा मात्रै सिमित हुँदा सेवा लिन नसकेकाे उनीहरुको भनाइ छ । उनीहरुले राज्यले कानुनी रुपमा दिएको अधिकारलाई व्यवहारीक रुपमा कार्यान्वयन गर्न सवै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् । सहभागीहरूले क्षमता विकास, सशक्तिकरणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिएका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सबै जिम्मेवार बन्न आग्रह गर्नुभयो । धेरै विषयहरु पहिलेकाे भन्दा सुधार हुँदै गएको बताउँदै समस्याका विषयमा निरन्तर छलफल आवश्यक हुने बताउनुभयो । समन्वय प्रमुख जिसीले अब बन्ने सबै संरचना अपाङ्गता मैत्री बनाउन आवश्यक रहेको बताउँदै जिल्ला समन्वय समितिबाट आवश्यक सहजीकरण र समन्वय गर्न तयार रहेको बताउनुभयो।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले अपांगता भएका व्यक्तिको समग्र विकासको लागि गाउँपालिकाले आफ्नो क्षमता अनुसार अपांगताको सवाललाई सम्वोधन गर्ने काम गरेको बताउनुभयो । साथै आगामी दिनमा पनि बजेट तथा कार्यक्रममा सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले यातायात छुट, स्वास्थ्य सेवामा छुट तथा सहुलियतको विषयमा सम्वन्धित निकायसँग पुनः बैठक बसेर छलफल गर्ने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिको सवालमा सबै पक्षको महत्वपूर्ण भूमिका हुने भन्दै सकारात्मक सहयोग गर्नुपर्ने बताउनुभयो। अपांगतामैत्री भाैतिक संरचना नहुँदा सेवा लिन समस्या हुने भएकाले उनीहरुकाे समस्यालाई मध्येनजर गर्दै सबै कार्यालय प्रमुखहरुलाई सहज र सरल रुपमा सेवा प्रदान अनुराेध गर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिह केसीले अपांगताको अवस्था, कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष हुनाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उजेली विकले गर्नुभएको थियो ।
प्रतिक्रिया