प्यूठान । पुर्ख्यौली माटो, गाउँघरको परिवेश, मौलिक संस्कृति र जन्मभूमिप्रतिको प्रेमलाई गीत तथा सङ्गीतमार्फत उजागर गर्ने उद्देश्यले तयार गरिएको ‘रातोमाटोको कथा’ बोलको म्युजिक भिडियोको छायाङ्कन प्यूठानमा सम्पन्न भएको छ। प्यूठानको प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, स्थानीय परिवेश र मौलिक पहिचानलाई समेटेर तयार गरिएको उक्त म्युजिक भिडियो निकट भविष्यमै सार्वजनिक हुने गितका सर्जक बिकास बिष्टले जानकारी दिनुभएको छ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली कला, साहित्य र सङ्गीत क्षेत्रमा सक्रिय गीतकार, सर्जक तथा साहित्यकार विकास बिष्टको शब्द सिर्जनामा तयार भएको यस गीतले जन्मभूमिप्रतिको आत्मीयता, माटोसँगको सम्बन्ध र गाउँघरको सम्झनालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। पुर्ख्यौली घर प्यूठान भएका बिष्ट विगत दुई दशकदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएको छ। प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र सङ्गीतप्रतिको निरन्तर लगाव राख्दै आउनुभएका उहाँका सिर्जनामा जन्मभूमि र नेपाली समाजप्रतिको आत्मीयता झल्किने गरेको छ।
यसअघि उहाँको ‘मनमल्लिका’ कवितासङ्ग्रह प्रकाशित भइसकेको छ भने ‘न्युयोर्क रेलैमा’, ‘फूलमा देखेँ तिमीलाई’, ‘घाम झैँ दिनमा’, ‘मनको बह, ‘चुलबुल चुलबुल’ लगायत दर्जनभन्दा बढी गीतमा शब्द रचना गरिसक्नुभएको छ। उहाँका विभिन्न गीतका म्युजिक भिडियोसमेत सार्वजनिक भइसकेका छन्।
‘रातोमाटोको कथा’ म्युजिक भिडियोको विशेषता भनेकै यसमा सिर्जनादेखि निर्माण र प्रस्तुतिसम्म प्यूठानसँग जोडिएका प्रतिभा, कलाकार र प्राविधिकहरूको सहभागिता रहनु हो। गीतकार विकास बिष्ट, गायक तथा सङ्गीतकार विनोद परियार, निर्देशक मुकेश नेपाली, कोरियोग्राफी टोली तथा छायाङ्कनका लागि छनोट गरिएका स्थान सबै प्यूठानसँग सम्बन्धित छन्। पुरुष मोडलको भूमिकामा स्वयं प्यूठानकै कलाकारको अभिनय रहेको छ भने महिला मोडलका रूपमा चर्चित मोडल जुनु बी।क।ले अभिनय गर्नुभएको छ। म्युजिक भिडियोमा प्यूठानका विभिन्न क्षेत्रका कलाकार तथा स्थानीय व्यक्तिहरूको समेत यसमा सहभागिता रहेको छ।
यस सिर्जनात्मक योजनालाई साकार पार्न गायक तथा सङ्गीतकार विनोद परियारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। गीतको परिकल्पनालाई मूर्तरूप दिन उहाँले गरेको निरन्तर मेहनत, समर्पण र सिर्जनात्मक योगदानको विशेष प्रशंसा गरिएको छ। त्यस्तै, निर्देशक मुकेश नेपाली, मोडल जुनु बी।क। तथा सम्पूर्ण प्राविधिक र कलाकार टोलीले देखाएको सद्भाव, सहकार्य र व्यावसायिक प्रतिबद्धताले म्युजिक भिडियो निर्माणलाई थप व्यवस्थित र प्रभावकारी बनाएको निर्माण पक्षले जनाएको छ।
यसका साथै छायाङ्कन तथा नृत्य प्रस्तुतिमा सहभागी डान्सर भाइबहिनीहरूको व्यावसायिक लगाव र मेहनत पनि प्रशंसनीय रहेको छ। विशेषगरी परिवारका अग्रज दाजुभाइ, भाउजू, दिदीबहिनी तथा अन्य सदस्यहरूको सहयोग, सद्भाव र योगदानले लामो समयदेखिको योजनालाई सफल बनाउन महत्वपूर्ण आधार तयार गरेको छ। गाउँघरका आफन्त तथा नातेदारहरूले देखाएको माया, साथ र सहयोगप्रति पनि निर्माण पक्षले आभार व्यक्त गरेको छ।
यस म्युजिक भिडियोमार्फत प्यूठानको प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्नुका साथै जिल्लाभित्र रहेका कला, सङ्गीत, अभिनय र प्राविधिक प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। विशेषगरी प्रवासमा रहेर पनि आफ्नो जन्मभूमिको माटो, भाषा, संस्कृति र पहिचानलाई सिर्जनामार्फत जोड्ने प्रयासका रूपमा यसलाई अर्थपूर्ण मानिएको छ।
गीतका केही पङ्क्तिले पनि प्यूठानको माटो, बाटो र प्रेमको आत्मीय सम्बन्धलाई उजागर गरेका छन्—
“रातोमाटो, किटको बाटो
बस्यो माया मुटुको चार पाटो”
त्यस्तै, ‘बार्दलीमा बतासी’ जस्ता भावपूर्ण शब्दले गीतलाई थप मौलिक र सांस्कृतिक स्वाद प्रदान गरेका छन्।
समग्रमा ‘रातोमाटोको कथा’ केवल एउटा म्युजिक भिडियो मात्र नभई प्यूठानको माटो, पहिचान, प्रतिभा, पारिवारिक आत्मीयता र सांस्कृतिक सम्पदालाई एउटै सिर्जनामा जोड्ने प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखिको परिकल्पनालाई मेहनत र सामूहिक सहकार्यबाट साकार पारिएको यस म्युजिक भिडियोले दर्शक तथा स्रोताको माया र साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।
प्यूठानको माटोमा जन्मिएको सिर्जना, प्यूठानकै प्रतिभाको मेहनत र प्यूठानकै परिवेशमा तयार भएको ‘रातोमाटोको कथा’ निकट भविष्यमै दर्शकमाझ सार्वजनिक हुने तयारीमा रहेको सर्जक बिकास बिष्टले जानकारी गराउनुभएको छ ।
प्रतिक्रिया