प्यूठान । प्यूठान नगरपालिका स्थित सारीवाङ्गमा परापूर्वकालदेखि परम्परागत रूपमा लाग्दै आएको प्रसिद्ध सारीवाङ्ग पूर्णिमा मेला यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। २०८३ मंसिर ८ गते आयोजित मेलामा हजारौँ स्थानीयवासी, विभिन्न क्षेत्रबाट आएका दर्शक तथा मेलाप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
स्थानीय मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा परम्परागत सराय नाच, सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति तथा स्थानीय उत्पादनका प्रदर्शनीहरू मुख्य आकर्षणका रूपमा रहेका थिए।
सराय मेला व्यवस्थापन समिति सारीवाङ्ग, प्यूठानका अध्यक्ष भुवन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्का प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी प्यूठान नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो।
मेलाको अवसरमा बिजुवारस्थित निमतारा पोलिक्लिनिकको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत मेलामा सहभागी स्थानीयवासी तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो। त्यस्तै, नेपाल टेलिकम बिजुवार शाखाले सेवाग्राहीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरेको थियो।
कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूले विविध सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले मेलामा थप रौनकता थपेको थियो। विशेषगरी पुस्तौँदेखि चल्दै आएको परम्परागत सराय नाच मेलाको प्रमुख आकर्षण बनेको थियो। सराय नाचमा सहभागीहरूको उत्साह र दर्शकहरूको उल्लेख्य उपस्थितिले स्थानीय संस्कृति र परम्पराप्रतिको आकर्षणलाई झल्काएको थियो।
त्यसैगरी, मेलामा स्थानीय कृषक तथा उत्पादकहरूले उत्पादन गरेका अर्गानिक खाद्य परिकार र स्थानीय मौलिक स्वादका विभिन्न परिकारका स्टलहरू राखिएका थिए। यस्ता स्टलले स्थानीय उत्पादनको प्रचारप्रसारसँगै स्थानीय उद्यम तथा आर्थिक गतिविधिलाई समेत प्रोत्साहन पुर्याएका थिए।
परापूर्वकालदेखि निरन्तर चल्दै आएको सारीवाङ्ग पूर्णिमा मेलाले मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला, संस्कृति, धार्मिक तथा सामाजिक परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस वर्षको मेलामा देखिएको उल्लेख्य सहभागिताले नयाँ पुस्तामा समेत मौलिक संस्कृति र परम्पराप्रतिको चासो बढाउन यस्ता मेला तथा महोत्सवको महत्वलाई पुनः उजागर गरेको छ।
स्थानीय मौलिकता, सांस्कृतिक पहिचान र परम्पराको संरक्षणलाई निरन्तरता दिने सन्देशसहित सारीवाङ्ग पूर्णिमा मेला उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
प्रतिक्रिया