रविन विश्वकर्मा,प्युठान । शहीद दिवस २०८१ प्युठानमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । देश र नागरिकको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदको सम्झना गरी हरेक वर्ष माघ १६ मा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन त्याग गरेका शहीदको सम्झनामा देशभर कार्यक्रम गर्ने गरिन्छ । दिवसको अवसरमा भोलि प्यूठान नगरपालिका ४ स्थित शहिद स्मृती पार्क गाँजुरीमा शहिदहरुको मुर्तिमा माल्यार्पण, प्रभातफेरी, रक्तदान, बाल बिशेष स्वास्थ्य परिक्षण, तथा पुस्तक बिमोचन एवम् रचना वाचन लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।
म अभियानको आयोजना तथा सहिद स्मृती पार्क ब्यबस्थापन तथा संरक्षण समिती प्युठान, नेपाल रेडक्रस सोसाइटी, नागरिक सरोकार समाज, नेपाल स्वयंसेवी रक्तदाता समाज ,रक्तसंचार सेवाकेन्द्र बिजुवार र भित्रिकोट सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । विशेष गरी म अभियानको आयोजनामा वाल बिशेष स्वास्थ्य परिक्षण, नागरिक सरोकार समाज प्युठानको आयोजनामा रक्तदान कार्यक्रम र साहित्य परिषद प्युठानको आयोजनामा प्युठान नगरपालिका ४ निवासी सुमन सुवेदीद्धारा लिखित अगुल्टो कविता संग्रह विमोचन गर्न लागिएको साहित्य परिषद प्युठानका कार्यवाहक अध्यक्ष बिमला खनालले जानकारी दिनुभयो ।
बालबालिकाहरुलाई लक्षित गरी आयोजना गरिएको बाल बिशेष स्वास्थ्य परिक्षणमा मुख सम्बन्धी ( मुख, गिंजा, दन्त) संग सम्बन्धित समस्याहरुको निशुल्क चेक जाँच गरि औषधी तथा उपचारको लागि परामर्श दिइने छ । एम.डी.जि.पी डाक्टर सन्तोष केसी र डाक्टर सुस्मिता कक्षपतीद्वारा बाल बिशेष स्वास्थ्य परिक्षण गरिने नागरिक सरोकार समाज प्युठानका संयोजक सुमन सुवेदीले जानकारी दिनुभयो । साथै दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना समेत गरिएकाले ईच्छुक ब्यक्तिलाई रक्तदान गर्न आयोजकले आग्रह समेत गरेको छ । कार्यक्रम बिहान साढे ११ बजेबाट सुरु हुने छ । शहीद दिवसको दिन भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया