रविन विश्वकर्मा,प्युठान । प्युठानको महेन्द्र मावि सहित लुम्बिनी प्रदेशको १५ वटा सामुदायिक विद्यालयमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु भएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबार प्रदेशका १२ जिल्लाका १५ वटा विद्यालयमा पहिलो चरणको अभियान एकैसाथ सुरु गरिएको हो । प्रदेशका मन्त्री, सभामुख, प्रदेश प्रमुख सचिव,सांसद र पूर्वमुख्यमन्त्री आफूले अक्षर चिनेको विद्यालयमा पुगेर अभियानको सुरु गरेका हुन । प्युठानको मल्लरानी गाउँपालिका ४ सदरमुकाम खलंगामा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले आज एक कार्यक्रमका बिच अभियानको उद्घाटन गरि सुभारम्भ गर्नु भएको हो ।
अभियानको सुभारम्भ गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरमा जोड दिनु सबैको दायित्व भएको बताउनुभयो । पछिल्लो समय एसईइ तथा अन्य कक्षाका नतिजाहरुमा सामुदायिक विद्यालयको नतिजा खस्किदै गएको बताउदै शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो । २०८० सालको एसईइ परीक्षामा प्युठान जिल्लाको नतिजा ७७ जिल्लामा सबैभन्दा कमजोर देखिएको बताउनुभयो । श्रेष्ठले शिक्षा क्षेत्रमा राज्यले करोडौं लगानी गरे पनि लगानी अनुसारको प्रतिफल पाउन नसकेको उल्लेख गर्दै सरकारी विद्यालयको गुणस्तर किन खस्किदै गएको छ त्यसको वृहत छलफल तथा समीक्षा गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । साथै सामुदायिक विद्यालयमा अनुशासनको अभाव रहेको बताउदै त्यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रदेश सभा सदस्य श्रेष्ठले जिल्लाको शैक्षिक विकासको लागि तत्पर लागि पर्ने प्रतिवद्धता जनाउनुभयो
यस्तै विशेष अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो । कुनै एक पक्षको एक्लो प्रयासले मात्रै शिक्षामा सुधार नआउने भएकाले गुणस्तरीय शिक्षा हासिल गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावक यी त्रिकोणात्म पक्षको सहकार्य मजबुत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले विद्यालयको शैक्षिक गुणस्तर, भौतिक संरचना तथा सामाजिक विकासको लागि पालिकाले जोड दिएको बताउनुभयो । जिल्लाको एसईइको कमजोर नतिजाले धेरै पाठ सिकाएको बताउदै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने बिषयमा गाउँपालिका भित्रका सबै विद्यालयमा अन्तरक्रिया गरि योजना बनाएर अगाडि बढेको बताउनुभयो । साथै आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट निर्माण गर्ने समेत बताउनुभयो । अध्यक्ष खड्काले यो कार्यक्रमले शैक्षिक गुणस्तरमा महत्वपूर्ण भुमिका खेल्ने भएकाले जिल्लामा सबै विद्यालयमा संञ्चालन गर्न आग्रह गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले प्रदेश सरकारले शिक्षाको गुणस्तर सुधार गर्न यो अभियान थालनी गरेको बताउनुभयो । पहिलो चरण सकिएपछि दोस्रो चरणको अभियान चल्ने बताउनुभयो । शैक्षिक सरोकारवालाहरुको सकारात्मक भुमिका र सहयोगमा सामुदायिक विद्यालयको खस्कदो स्तरलाई सुधार गरी सामुदायिक विद्यालयप्रति चासो र आफ्नो दायित्वबोध गराउने अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो । विद्यालय सुधार र विकासका लागि प्रदेश सरकारले सामुदायिक सहभागिता, विद्यालय व्यवस्थापन समितिहरू, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजना बनाएको बताउनुभयो । वरिष्ठ शिक्षा अधिकृत केसीले अभियान अन्तर्गत् विद्यालयहरूको सामाजिक,आर्थिक, भौतिक पूर्वाधार विकास, शैक्षिक सुधार कार्यक्रम, विद्यार्थी कल्याण योजनाहरू, स्वच्छ र सुरक्षित विद्यालय वातावरणको प्रवद्र्धन तथा विद्यालयमा प्रविधिमैत्री पठनपाठनलाई जोड दिने बताउनुभयो ।
कार्यक्रममा २०५६ सालका एस.एल.सी ब्याजका पुर्वविद्यार्थीले विद्यालयको शैक्षिक विकासका लागि छात्रवृत्ति अक्षकोष स्थापना गर्न एक लाख बढिको चेक हस्तान्तरण गरेका थिए । ब्याजका ५३ जना मध्ये सम्पर्कमा रहेका २१ जनाबाट रकम संकलन गरि २०५६ एस.एल.सी ब्याज छात्रवृत्ति अक्षकोष स्थापना गर्न १ लाख दुई हजार छपन्न रुपैंयाको चेक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । यस्तै मल्लरानी गाउँपालिका ४ की लक्ष्मी नगरकोटीले पनि छात्रवृत्ति अक्षकोषको लागि १० हजार एक सय ५१ रुपैंया उपलब्ध गराउनु भएको छ ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक विष्णु पौडेलले स्वागत मनतब्य राख्दै विद्यालयको शैक्षिक अवस्था, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तरमा देखिएका समस्या तथा चुनौती लगायतका अन्य महत्वपूर्ण बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश श्रेष्ठ, गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्य, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष शिवराज श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा विद्यालयका पुर्वविद्यार्थी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, शिक्षक विद्यार्थी, अभिभावक लगायतको उस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन शिक्षक धुव्र गिरीले गर्नुभएको थियो ।
प्रतिक्रिया