स्थानीय तहहरुको आर्थिक वर्ष २०८०/०८१ को बित्तीय सुशासन जोखिम मूल्यांकनमा प्युठानका ९ स्थानिय तह मध्ये मल्लरानी गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तय गरेको कार्यविधि अनुसारको मूल्यांकनमा उच्चतम प्रदर्शन गर्ने स्थानीय तहमा मल्लरानी गाउँपालिका परेको हो । मल्लरानी गाउँपालिकाले १०० अंकमा ९० दशमलव ५ अंक प्राप्त गरि जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।
दोस्रोमा स्वर्गद्वारी नगरपालिका र सरुमारानी गाउँपालिका रहेका छन । स्वर्गद्वारी र सरुमारानीले सम्मान ८४.५ अंक पाएर दोस्रो भएका छन्। त्यसैगरी, तेस्रो गौमुखी गाउँपालिकाले ८० अंक, चौथो प्युठान नगरपालिकाले ७७.५ अंक, पाचौ स्थानमा झिमरुक गाउँपालिकाले ७३.५ अंक प्राप्त गरेको छ। ऐरावती गाउँपालिकाले ७२.५ अंक, र सबै भन्दा कम माण्डवी गाउँपालिकाले ७० अंक प्राप्त गरेको छ । विभिन्न पाँच वटा विषय क्षेत्रमा मूल्यांकन गर्ने गरिन्छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन विषय क्षेत्र रहेका छन ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जनप्रतिनिधि, कर्मचारी सबैले कार्यसम्पादन देखाएको सकृयताले राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो । सबै पक्षको कार्य सम्पादनमा एकरुपता ल्याउनुका साथै सकारात्मक सोच अनुसार काम गर्न सकेमा कार्यप्रणाली अझ राम्रो बनाउन सकिने बताउनुभयो । आगामी दिनमा अझ प्रभावकारी नतिजा ल्याउन गाउँपालिका लागि पर्ने अध्यक्ष खड्काको भनाई छ ।
प्रतिक्रिया