प्यूठान । दम्तीमा निर्माण भएको बिद्युत सव–स्टेशन सम्झौता तोडेरै सञ्चालन गरिने भएको छ । मंगलबार जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पन्न गरी संचालनमा ल्याउने निर्णय गरेको हो । निर्माण सम्पन्न भएको ७ वर्ष वितिसक्दा समेत संचालनमा आउन नसकेको दम्ती विद्युत सव–स्टेशन तिहार अगाडी सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो ।
प्यूठान नगरपालिका ८ दम्तिमा ७ बर्ष अगाडी निर्माण सुरु भएको शबस्टेशनको झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । श्री त्रिपुरेश्वर जयदुर्गे जेभीले २०७४ जेठ १७ गते ५ करोड ३६ लाख ६० हजार ६ सय ८२ रुपैंयामा निर्माण सम्झौता गरेको थियो । ७३ प्रतिशत भुक्तानी लिइसकेको कम्पनीले स्थानीयको अवरोध भन्दै काम रोकेको नेपाल विद्युत प्राधिकरण प्युठानका कार्यालय प्रमुख इन्जिनियर प्रज्वल हुमागाँईले बताउनुभयो । बैठकमा नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख इन्जिनियर राजिव कुमार सिंहले डेढ वर्षदेखी निर्माण कम्पनी सम्पर्कमा नरहेको बताउदै निर्माण कम्पनीसँग सम्झौता तोडेर भएपनि बाँकी काम पुरा गर्ने बताउनुभयो ।
बेलुवादेखि दम्तीसम्मका केहि स्थानमा स्थानीयको अबरोधका कारण सबस्टेशन सञ्चालनमा कठिनाई भइरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । काम कार्यान्वयनमा स्थानीय पालिका, वडासँग कुनै समन्वय नगरी स्थानीयले काम रोके भन्नु वाहानावाजी मात्र भएको प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले बताउनुभयो । आफुहरु कामको सहजिकरणका लागि तयार रहेको भन्दै उहाँले सव–स्टेशन तत्काल संचालनमा ल्याउनुपर्ने उल्लेख गर्नुभयो । प्यूठान नगरपालिकाले बिवाद समाधानका लागी सहयोग गर्ने भएसँगै तिहार अगाडी सबस्टेशन सञ्चालन गर्ने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
प्यूठानका हाल ३३ केभिएको बिद्युत बितरण भइरहेको छ । सबस्टेशन निर्माण सम्पन्न भइ सञ्चालन भएपश्चात ११ केभिएको बिद्युत बितरण हुनेछ । सबस्टेशन सञ्चालन भएपछि बिद्युत अनियमितको समस्या समाधान हुनेछ । यसैबिच मंगलबार नै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बेलुवादेखि दम्तीसम्मको बिद्युत प्रशारण लाइनको अनुगमन समेत गरेको छ । जिल्लामा निर्माण सम्पन्न भएको विद्युत सव–स्टेशन सञ्चालनमा नआउँदा उपभोक्ताहरले हैरानी व्यहोरेका छन ।
प्रतिक्रिया