रविन विश्वकर्मा,प्युठान । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले बाग्दुला मच्छि ठुलाबेशि अर्खा सडक खण्ड कालोपत्रे गर्ने बताउनुभएको छ । शुक्रबार गौमुखी–४ कुर्लाचौर खेलमैदानमा आयोजित गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गदै मच्छि अर्खा सडक खण्ड कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
मन्त्री थापाले सडक खोलिएको बषौंदेखि स्तरउन्नति हुन नसकेको बाग्दुला मच्छि सडक खण्डको स्तरउन्नति, बाटो कालोपत्रे कसरी गर्न सकिन्छ, बजेट कति लाग्छ भनेर प्राविधिक टोलीसहित केहि दिन अघि पैदल यात्रा गरेको बताउनुभयो । अहिले यस पटक परेको केहि बजेटबाट सडक कटिङको काम सुरु भएको बताउनुभयो ।यस बर्ष बाग्दुला मच्छि सडक खण्ड कालोपत्रे गर्ने उहाँले दाबी गर्नुभयो ।
बाग्दुला मच्छि सडक कालोपत्रेपछि मच्छि ठुलाबेशि अर्खा सडक खण्ड कालोपत्रे गर्न पहल गर्ने बताउनुभयो । आफु मन्त्री भएको बेला अब मच्छि देखि अर्खासम्मको बाटो पिचको लागि यसै बर्ष केहि बजेट विनियोजन गरेर बहुबर्षिय ठेक्का लगाउने प्रतिवद्धता जनाउनुभयो । अबको बजेट बनाउँदा पहुँचको भरमा नभइ जनमुखि, निष्पक्षता र आवश्यकताको योजना सहितको बजेट बनाउने बताउनुभयो । जनताका अति आवश्यकताका योजनाहरु संकलन गरी खाका बनाउन जिल्लाका जनप्रतिनिधिहरुलाई मन्त्री थापाले आग्रह गर्नुभयो । विगतदेखि नेतृत्वमा गए पनि काम गर्ने प्रवृत्ति राम्रो नहुँदा प्युठान जिल्ला विकासमा पछाडि परेको उहाँको भनाइ छ । आगामि बजेटमा आफुले नमुनाका रुपमा काम गर्ने बताउदै प्युठानी जनतालाई जिल्लाको विकासकाे स्वाद चखाउने बताउनुभयो ।
मन्त्री थापाले खेलकुद मार्फत राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो । पछिल्लो समय खेलकुद प्रती आकर्षण बढ्दै गएपनि खेलमैदान तथा प्रर्याप्त भौतिक संरचनाको अभावका कारण खेलमा सोचे जस्तो प्रगति हुन नसकेको बताउदै तीनै तहका सरकारले ब्यवस्थित खेल मैदानसंगै खेलाडिको क्षमतामा जोडदिनुपर्ने आवश्यकता औंल्याउनुभयो । खेलाडिको जीवनस्तर उकास्नको लागि पालिका स्तरबाट केहि कामको सुरुवात भएता पनि त्यो पुर्ण नभएको उल्लेख गदै यसको लागि प्रदेश सरकारले मापदण्ड समेत बनाएको बताउनुभयो । मन्त्रालय फरक भए पनि जिल्लाको खेलकुद क्षेत्र र खेलाडिको विकासका निमित्त खेलकुद मन्त्रालयसंग सहकार्य गदै अगाडि बढ्ने बताउनुभयो ।
सहरी विकास तथा खानेपानी मन्त्री थापाले प्युठान जिल्लाका अधिंकाश खानेपानी आयोजनाहरुको समस्याहरु यस पटक समाधान गर्ने दृढताका साथ आफु लागि परेको बताउनुभयो । धेरै ठाउँमा अलपत्र परेका अपुरा आयोजनाहरुको अनुगमन तथा अनुसन्धान गरी समस्या समाधान गर्न सुक्ष्म तरिकाले अगाडि बढेको बताउनुभयो ।
प्रतिक्रिया