logo

  • ३० श्रावण २०८३, शनिबार | Sat, 15 Aug 2026

  •      Listen Radio Live

    प्यूठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ताको भएको पुष्टि, आफन्तद्वारा सनाखत

    प्यूठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ताको भएको पुष्टि, आफन्तद्वारा सनाखत

    प्यूठान । रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव प्यूठानका विभिन्न स्थानमा फेला परेको र आफन्तले सनाखत गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार बिहीबार बिहान स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको थियो। त्यस्तै, स्वर्गद्वारी नगरपालिका–३ किमिचौरमा पुरुषको, वडा नम्बर ४ गोठीबाङमा महिलाको तथा वडा नम्बर ५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा महिलाको शव फेला परेको थियो।

    यसैगरी, माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा पनि एक पुरुषको शव फेला परेको थियो। ती पाँचै शव रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा पहिरोमा परी बेपत्ता भएका व्यक्तिहरूको रहेको आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार स्वर्गद्वारी–९ जुडापाटामा फेला परेको शव ७ वर्षीय अशोक पुन मगरको रहेको उनका काका कृष्ण पुन मगरले सनाखत गरेका छन्। त्यसैगरी, किमिचौरमा फेला परेको शव ३४ वर्षीय महेन्द्र घर्तीको रहेको भान्जा कृष्ण पुन मगरले सनाखत गरेका छन्।

    गोठीबाङमा फेला परेको शव ६६ वर्षीया मनि पुन मगरको रहेको उनका छोरा गोबबहादुर पुन मगरले सनाखत गरेका छन्। सरोजास्थित लुङ्ग्री खोलाको किनारमा फेला परेको शव ३४ वर्षीया विष्णु पुनको रहेको उनका मामा गोबबहादुर पुन मगरले सनाखत गरेका छन्।

    त्यस्तै, माण्डवी गाउँपालिका–५ अर्दुसस्थित माडी खोलाको किनारमा फेला परेको शव ८० वर्षीय बलबहादुर पुन मगरको रहेको उनका भतिज गोबबहादुर पुन मगरले सनाखत गरेका छन्।

    रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा बुधबार साँझ अविरल वर्षाका कारण पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको र दुई जना अझै बेपत्ता रहेको पछिल्लो विवरण सार्वजनिक भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

     

    प्यूठानमा फेला परेका पाँच शवको सनाखत भएसँगै ती शव रोल्पा पहिरोमा परी बेपत्ता भएका व्यक्तिकै भएको पुष्टि भएको छ। शव फेला परेका स्थानमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरी आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



    mandavionline mandavionline    
  • २८ श्रावण २०८३ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP