राम बुढा र प्रवीण बुढा दाजुभाइ रसुवाको हाकुबेंसीस्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्थे । गत मंगलबार राम भाइ प्रवीणलाई कार्यस्थलमा छाडेर काठमाडौं आए । भोलिपल्ट बुधबार भोटेकोशीमा आएको बाढीपछि प्रवीण सम्पर्कविहीन छन् । त्यसयता राम भाइको खोजीमा भौंतारिरहेका छन् ।
राम यसबीचमा काठमाडौंबाट हाकुबेंसी पुगेर जलविद्युत आयोजनाको सुरुङभित्र छिर्न खोजे । तर छातीमाथिसम्म हिलो आएपछि अघि बढेनन् । ‘त्यहीँबाट भाइ भनेर चिच्याएँ, जवाफ दिन्छ कि भनेर एकछिन अडिएँ, भाइ बोलेन,’ उनले कान्तिपुरसित भने, ‘सुरुङभित्रको अवस्था केही पनि थाहा छैन ।’ भाइ नभेटिएपछि उनी हाकुबेंसीबाट फर्किए । राम र प्रवीण दाजुभाइको घर जुम्लाको पाताराशी गाउँपालिका–५ मा छ । ‘जुम्लामा रहेका बुबाआमा चिन्तामा हुनुहुन्छ । खोजी हुँदै छ भनेर मैले सम्झाएको छु । तर अब बुबाआमालाई के जवाफ दिनु रु’ उनले भने ।
२० वर्षीय भाइ प्रवीण १२ कक्षा पास गरेपछि विदेश जाने तयारीमा थिए । ‘विदेश जाने प्रक्रिया चलिरहेका बेला खाली बस्नुभन्दा खर्च जुटाउन भाइलाई मसँग काममा लगेको थिएँ । काम गर्न जाँगरिलो थियो । भनेको मान्थ्यो । त्यसैले पनि मसँग रसुवा गएको थियो,’ रामले भने, ‘यस्तो दुःखको दिन आउला भन्ने लागेको थिएन । भाइलाइ काठमाडौंमा छाडेको भए हुने रहेछ’
तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीकी सरिता चौधरी श्रीमान् सुनील चौधरीको अनुहार खोज्दै पोखरा पुगेकी छन् । रसुवाको टिमुरेस्थित जलविद्युत् आयोजनामा मिस्त्री काम गर्ने सुनील बाढीमा परेपछि शवगृहका बाकसहरू हेर्न उनी पोखरा पुगेकी हुन् ।
सुनीलले सरितासँग अघिल्लो दिन साँझ ५ बजेसम्म फोनमा कुरा गरेका थिए । ‘अघिल्लो दिन फोनमा कुरा हुँदा उहाँले अप्ठ्यारो काम छ, खोलानालामा डर छ भन्नुभएको थियो । मैले भाडा छैन भने म पैसा पठाइदिन्छु, बरु घर आउनुस् भनेकी थिएँ,’ आँसु पुछ्दै उनले भनिन्, ‘उहाँले अहिले उपचार गर, बच्चालाई कपडा किनिदेऊ, दसैंमा आउँछु भन्नुभयो । तर भोलिपल्ट दिउँसो त बाढीले सबै लग्यो भन्ने खबर आयो ।’
घरमा १६ वर्षका छोरा र १० वर्षकी छोरी दिनहुँ ‘बाबा खोइ’ भनेर सरितालाई सोध्छन् । ‘गरिब दुःखी मान्छे, छोराछोरी कसरी हुर्काउने, कसरी पढाउने रु मेरो त होस पनि छैन,’ उनले भनिन्, ‘श्रीमान् भेटिनुभएन भने पनि सरकारले कम्तीमा क्षतिपूर्ति दिनुपर्छ र हाम्रा स–साना छोराछोरीको संरक्षण गरिदिनुपर्छ ।’
जुम्लाका राम र दाङकी सरिता मात्रै होइन, भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीमा आफन्तजन नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, पोखरा, नवलपरासीसम्म भौंतारिरहेका छन् । कर्णाली, सुदूरपश्चिम, मधेश र कोशीलगायत प्रदेशबाट आइपुगेका परिवारजन रातदिन सोधखोज गरिरहेका छन् । बाढीमा बगेर कता पुगे वा कता पुरिए वा कतै फसेका पो छन् कि भन्ने यकिन नहुँदा खोज्न पनि कहाँ जाने भन्ने अन्योलमा छन् परिवारजन ।
परिवारमा धेरै सदस्य भएकाहरू छरिएर बेपत्ताको खोजी गरिरहेका छन् । जिल्ला–जिल्लाको शव व्यवस्थापन केन्द्रमा पुगिरहेका छन् । बेपत्ता खोजीका लागि सामाजिक सञ्जालमा पनि अपिल गरिरहेका छन् । कतिपय परिवारलाई खोज्न स्थानीय जनप्रतिनिधिले सघाइरहेका छन् । जनप्रतिनिधिसमेत विभिन्न जिल्ला धाइरहेका छन् । आर्थिक पक्ष र उमेरका कारण हिँड्न नसक्ने तथा सामाजिक सञ्जालको पहुँचमा नरहेका परिवारहरू घरमै विलाप गरेर बस्नुपर्ने बाध्यता छ । भोटेकोशी बाढीमा परेका ७ सय ८८ जनाको शव आइतबार साँझसम्म फेला परेको छ । सम्पर्कविहीन हुनेको संख्या २ हजार ५ सय २ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जलविद्युत् आयोजनामा काम गर्ने मजदुर, इन्जिनियर, कर्मचारी मात्रै ९ सय ३३ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार ५ सय ९२ विदेशी नागरिक सम्पर्कमा छैनन् । विदेशी पर्यटकसँगै घुम्न आएका १ सय २७ नेपाली नागरिकको अवस्था पनि थाहा छैन ।
रसुवाको टिमुरेस्थित निर्माणाधीन जलविद्युत् आयोजना बगाउँदा बेपत्ता भएका १८ नगरवासीको खोजीका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–१३ का अध्यक्ष मोहन पौडेलको नेतृत्वमा ४० जनाको टोली शनिबार चितवन हुँदै पोखरासम्म पुग्यो । चितवनमा फेला परेका शव नियाल्दा नगरवासी कोही नदेखिएपछि टोली पोखरा पुगेको हो ।
टोलीमा रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिचान नखुलेका शवहरूको तस्बिर एक–एक गर्दै हेरे । प्रतिष्ठानको एउटा कोठामा राखिएको डिस्प्लेमा प्रत्येक शवको कपडा, उचाइ र हुलिया नियाल्दा आफन्तको छाती ढुकढुक भइरहन्थ्यो । १ सय २ वटै शवको तस्बिर नियालिसक्दा पनि तुलसीपुरका कसैको पहिचान हुन सकेन । ‘पोखरामा तुलसीपुरका कोही पनि भेटिएनन्,’ वडाध्यक्ष पौडेलले भने । भोटेकोशी बाढीपछि हराइरहेका आफन्तको खोजीमा पोखरामा दिनमा एक हजार जना जति आउने गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता दीपक रिजालले बताए ।
छोरा खोज्दै ६० वर्षीया आमा
रसुवा भन्सार कार्यालयनजिकै काम गर्दै आएका शेरबहादुर माझी बाढीपछि परिवारको सम्पर्कमा छैनन् । उनको खोजी गर्दै रौतहटको चन्द्रनिगाहपुर–१ पौराहीकी ६० वर्षीया आमा बिर्सीमाया आइतबार भरतपुर पुगिन् । शेरबहादुरको घरमा अहिले वृद्ध बा छन् । उनका दाजु र भाइ अनि श्रीमती विदेश छन् । ‘हामीले त खबर नै ढिलो पायौं । के गर्ने, कसो गर्ने भयो । यहाँ लास राखेको छ अरे भनेपछि बल्ल आएँ,’ बिर्सीमायाले भनिन् ।
जेठी बुहारी शान्ता र छिमेकी इन्दिरा खड्का बिर्सीमायाको सहयोगी बनेर आएका छन् । चितवनमा फेला परेका र पहिचान नभएका शवको फोटो खिचेर उद्योग वाणिज्य संघको एउटा भवनभित्र ठूलो स्क्रिनमा देखाउने व्यवस्था गरिएको छ । बिर्सीमायाले बुहारी शान्ता र इन्दिरासँगै बसेर ती फोटाहरू धेरैबेर नियालिन् । तर उनको छोराको अनुहार मिल्ने फोटो देखिएन ।
यस्तै शव नवलपुरको गैंडाकोट अस्पताल र पोखरामा पनि राखिएको छ भन्ने बिर्सीमायाले सुनेकी छन् । अरू ठाउँ नभए पनि नवलपुरसम्म जाने उनले बताइन् । रौतहटबाट एक वडा सदस्य खोजीमा सहयोगका लागि आउँदै गरेको खबर उनले पाएकी छन् । ‘उहाँले पोखरा र काठमाडौं हामी जान्छौं, तपाईंहरू फर्कनुस् भन्नुभएको छ,’ बिर्सीमायाले भनिन्, ‘मलाई त छोरो जिउँदै छ भन्ने आशा छ ।’
उनका छोरा चार जना थिए । वैदेशिक रोजगारीमा गएका साइँला छोराको निधन भइसक्यो । ‘उमेर बित्दै जाँदा झन्पछि झन् नराम्रो खबर सुन्नुपरेको छ,’ बिर्सीमायाले भनिन् ।
बाँकेका बाबु–छोरा बेपत्ता
बाँके कोहलपुर–११ लोकनगरका करिङ्गा थारू भाइ आशाराम र भाइको छोरा पृथ्वीनारायणको सोधखोज गर्दै भरतपुरमा भौंतारिरहेका छन् । आशाराम र पृथ्वीनारायण बाबुछोरा नुवाकोटको जलविद्युत् आयोजनामा काम गर्थे । तर बाढीपछि परिवारसँग उनीहरू सम्पर्कमा छैनन् । ‘रक्षाबन्धनमा आउँछु भनेको रहेछ तर दुवै जना अहिलेसम्म सम्पर्कविहीन छन्,’ करिङ्गाले भने ।
लोकनगरबाट त्यहाँ काम गर्न गएकामध्ये तीन जनाको शव भरतपुरमा फेला परेको थियो । आफ्नो भाइ र छोरा यहीँ भेटिएलान् भन्ने उनलाई लागेको थियो । दुई दिन बसेर खोज्दा पनि केही जानकारी नआएपछि अब अन्यत्र खोज्न नजाने र बाँके नै फर्किने करिङ्गाले बताए ।
बर्दिया जोडिपुर–१ फूलबारीकी गीता थारू तीन दिनयता लगातार भरतपुरस्थित उद्योग वाणिज्य संघमा धाइरहेकी छन् । उनका ज्वाइँ सन्तराम थारू नेपाल प्रहरीका जागिरे हुन् । गएको असारमा उनको सरुवा रसुवाको टिमुरेमा भएको थियो । प्रहरी कार्यालयमा नै रहेका सन्तराम बाढीपछि सम्पर्कमा छैनन् ।
गीता भरतपुरमै बस्दै आएकी छन् । बहिनीले गएर बुझ्न भनेपछि उनी त्यहाँ आउन सुरु गरेकी हुन् । ‘यहाँका फोटाहरू हेरें तर देखिँदैन । उताबाट बहिनी र उनका जेठाजु–जेठानी पनि आउनुभएको छ । हिजो यता, उता गैंडाकोटसम्म गएर बुझ्यौं तर पत्ता लागेन,’ गीताले भनिन् ।
मोबाइल फोन हेर्दै गर्दा सामाजिक सञ्जाल ‘टिकटक’ मा सकुशल काठमाडौं आउनेको नाममा सन्तरामको पनि नाम देखियो । ‘टिकटकमा त्यो कसरी आयो, थाहा भएन तर अचानक नाम देख्दा आशावादी भएका छौं,’ गीताले भनिन्, ‘बहिनी र अरू आफन्त आइतबार बिहानै काठमाडौं दौडिएका छन् । पक्का नभएसम्म खोजी जारी नै राख्ने सल्लाह छ ।’
भाइ खोज्दै दाइ, छोरा खोज्दै बाबु
मकवानपुरको थाहा नगरपालिका–४ का नवराज लामा कान्छो भाइ ४२ वर्षीय रामेश्वरको खोजतलासमा नुवाकोट, चितवनदेखि पोखरासम्म भौंतारिए । ‘बिहीबार राति नै नुवाकोट पुगें । त्यहाँ पुग्दा भाइको अत्तोपत्तो लागेन । त्यहाँबाट शनिबार चितवन आएँ । त्यहाँ पनि स्क्रिनमा शवहरू हेरें । भाइ देखिएन,’ उनले भने, ‘त्यसपछि नवलपरासीको गैंडाकोटमा राखिएको नगर अस्पतालमा शवहरू हेर्न गएँ । त्यहाँ पनि नभेटेपछि शनिबार राति नै पोखरा पुगें । भाइको अवस्था थाहा हुन सकेको छैन ।’
पाँच ठाउँ डुल्दा पनि भाइको अवस्था थाहा नभएपछि नवराज आइतबार थकित हुँदै घर फर्किएका छन् । ‘बुहारीलाई के जवाफ दिने, के भनी सम्झाइबुझाइ गर्ने रु’ उनले कान्तिपुरसित भने, ‘सम्पर्कविहीन व्यक्तिको खोजतलास गर्न पनि कति ठाउँ पुग्नुपर्ने हो १ शवहरू पनि एकै स्थानमा राखिदिएको भए हुन्थ्यो । हामी जस्ता पीडितलाई सजिलो हुन्थ्यो ।’ रामेश्वरको खोजीमा स्थानीय तहका जनप्रतिनिधिहरू पनि गएका थिए ।
नवराजका अनुसार बाढीको अघिल्लो दिन साँझ दाजु–भाइबीच भिडियो कल भएको थियो । ‘भिडियो कलमा भाइले खाना खाएर सुत्न लागेको भनेको थियो,’ भक्कानिँदै उनले भने, ‘बाढी आएपछि भाइ सम्पर्कविहीन भयो । पाँच दिन भयो न सास भेटिन्छ, न त लास नै ।’ सम्पर्कविहीन रामेश्वर लामा चालक थिए । उनी बाढी आउनु अघिल्लो दिन ९मंगलबार० सामान लिन भन्दै गाडी लिएर रसुवागढी नाकातर्फ गएका थिए ।
यस्तै पीडामा छन् थाहा नगरपालिका–३ बाहुन गाउँका ओमबहादुर कार्की पनि । छोरा प्रशान्त भोटेकोशी बाढीपश्चात् सम्पर्कविहीन छन् । छोराको खोजीमा उनी रातारात नुवाकोट पुगे । त्यहाँ छोराको अत्तोपत्तो नलागेपछि शव राखिएका अस्पताल चहादै हिँडेका छन् । ‘भरतपुर मात्र होइन, नवलपरासीको मध्यबिन्दु प्रादेशिक अस्पतालमा राखिएका शवहरू पनि हेर्न पुगेको पुगें,’ उनले भने, ‘कतै पनि छोरा फेला नपरेपछि निराश भएर घर फर्किएँ ।’ सामान ढुवानी गर्न प्रशान्त गाडी लिएर मंगलबार रसुवागढीतर्फ हिँडेका थिए ।
हेटौंडा उपमहानगरपालिका–३ का घनश्याम बस्नेत पनि सामान लिन गाडी लिएर रसुवा नाका गएका थिए । गत मंगलबार रसुवागढी नाका नजिकैको बजारमा पुगेको भनेर उनले श्रीमती कञ्जन पाठकलाई फोन गरेका थिए । त्यसपछि केही खबर छैन । कञ्चन श्रीमान्को खोजीमा भरतपुरसम्म पुगिन् । बाढीले बगाएर ल्याएकाहरूको शव राखिएको मध्यबिन्दु, कावासोती, भरतपुर अस्पताल पुग्दा पनि अवस्था केही पत्ता नलागेको उनले सुनाइन् ।
कञ्चन पाठकका श्रीमान् विनाशकारी बाढीपछि सम्पर्कविहीन छन् । उनका अनुसार श्रीमान् घनश्याम बस्नेत सामान लिए गाडी लिएर रसुवा नाका गएका थिए । बाढीको अघिल्लो दिन रसुवागढी नाका नजिकैको बजारमा पुगेको भनेर उनले श्रीमतीलाई फोन गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भोटेकोशी बाढीपछि जिल्लाका ६५ जना हराइरहेका छन् ।

‘कहाँ–कहाँ खोज्नु’
खोटाङका पुष्पराज भट्टराईको अवस्था पत्ता लगाउन परिवारजन नुवाकोट, काठमाडौं हुँदै चितवन पुगे तर केही जानकारी छैन । ‘नुवाकोटको बिदुरसम्म पुगेर नेपाली सेना र प्रहरीसँग सोधीखोजी गर्यौं । उहाँ काम गर्ने जलविद्युत् आयोजनाका मान्छेसँग पनि कुरा भयो । सम्पर्कविहीन भएको स्थानसम्म हेलिकोप्टरबाट पुगेर पनि खोजी गरियो । केही पत्तो लाग्न सकेको छैन,’ उनका साढुभाइ विनोद ढुंगेलले भने, ‘काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको सूची हेर्यौं । बगाएर चितवन पुर्यायो कि भनेर त्यतै पुगेका छौं ।’
ढुंगेलका अनुसार भट्टराई त्रिशूली–३ बी आयोजनामा प्रशासनतर्फ स्टोर किपरमा कार्यरत थिए । ‘बाढीको बेला उहाँ आयोजनाको अफिस एरियामा नै हुनुहुन्थ्यो रे,’ उनले भने, ‘एक्कासि बाढी आएपछि भागभाग भएछ । को–को भाग्न सफल भए, को–को बाढीमा परे थाहा छैन रे ।’ बाढीका बेला सँगै रहेका भट्टराईका सहकर्मीसँग भेटेर कुराकानी भएको तर केही सूचना पाउन नसकेको उनले सुनाए ।
भट्टराईका आफन्तले फेसबुकमार्फत समेत खोजी गरिदिन राज्यसँग अनुरोध गरेका छन् । ‘खोटाङ लामीडाँडा खरिदार टोलका मोहन काकाको साहिँला छोरो पुष्पराज भट्टराई त्रिशूली जलविद्युत् कम्पनीको कार्यक्षेत्रबाट बाढीका कारण सम्पर्कविहीन हुनुभएको छ । निजको उद्धार तथा खोजबिनका लागि प्रकोप व्यवस्थापनका लागि खटिनुहुने टिमसमक्ष हार्दिक अपिल गर्दछौं,’ फेसबुकमा लेखिएको छ ।
कर्णालीबाट रसुवा
सल्यान बन्गाड कुपिण्डे नगरपालिका–६ का गिरीलाल बुढाथोकी परिवारसहित रसुवाको टिमुरे बजारमा व्यापार व्यवसाय गर्दै आएका थिए । बुधबारको बाढीपछि गिरीलालले दाइ मेंवालाललाई फोन गरेर भने, ‘दाइ मेरो त सर्वस्व सकियो । भोटेकोशीमा आएको बाढीले म गम्भीर घाइते भएँ । श्रीमती, छोराछारी सबैलाई बाढीले बगायो ।’
फोन संवाद सकिनासाथ मेंवालाल घरबाट निस्किए । ‘घाइते भाइलाई उपचारका लागि काठमाडौं लगेका रहेछन् । अस्पताल पुगेर भेटें । त्यसपछि बुहारी र भतिजाभतिजीको खोजीमा छु,’ उनले भने । यस क्रममा उनले नुवाकोट हुँदै रसुवासम्म पुगेको सुनाए ।
बाढीपछि बुहारी सुनीता, भतिजी निर्मला, भतिज केशव र निराजन सम्पर्कविहीन रहेको मेंवालालले सुनाए । ‘सुरक्षाकर्मीले खोजी गरिरहेका थिए । सुरक्षाकर्मीले जीवितै अवस्थामा धेरैको उद्धार गरेको र धमाधम उपचारका लागि अस्पताल लगेको देखेर अस्पतालरअस्पताल पनि डुलें । कतै भेटाउन सकिनँ,’ उनले भने । रसुवामा बुहारीको शव भेटिएको खबर पाए पनि पुष्टि हुन नसकेको उनले बताए । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्ला ५९ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।
गत साउनमा मात्र मजदुरीका लागि रसुवाको टिमुरे पुगेका सल्यानको कुमाख गाउँपालिका–३ गुर्दासेका ६० वर्षीय दुर्गाबहादुर राना बाढीपछि सम्पर्कविहीन छन् । उनको खोजीमा छोरा अर्जुन चितवन, तनहुँको दमौली देखि पोखरासम्मका अस्पताल पुगे । ‘तर बुवा कहाँ र कुन अवस्थामा हुनुहुन्छ भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘कतैबाट भरपर्दो सूचना पाउन सकिएको छैन । पाँच दिन भो राम्रोसँग निदाउन सकेको पनि छैन ।’
सल्यानकै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन सम्पर्कविहीनको खोजीमा उनीहरूका आफन्त सहित काठमाडौं निस्किएका छन् । ‘पालिकाबाट रोजगारीमा गएकाहरू बाढीपछि सम्पर्कविहीन छन् । जीवित वा मृत नभेटिँदासम्म खोजी गरिरहनेछौं,’ पुनले भने, ‘आफ्ना नागरिकको खोजी गर्नु गाउँपालिकाको दायित्व पनि हो ।’
वडा नं ६ का रूपक विकसहितको टोली नवलपरासी, चितवनका अस्पताल हुँदै काठमाडौं पुगेको छ । रूपकले दाइसहित पालिकाका १४ जना सम्पर्कमा नरहेको जनाए । ‘हराएका व्यक्तिको पहिचान खुल्ने फोटो, नागरिकता लिएर हिँडेका छौं । अस्पतालहरूमा भएका धेरै शव हेर्यौं, हाम्रा मान्छे कोही थिएनन्,’ उनले भने, ‘सास वा लास नभेटसम्म आस नमर्दो रहेछ । अब नुवाकोट हुँदै रसुवासम्म पुग्ने तयारी गरेका छौं ।’

‘बोल्दाबोल्दै फोन काटियो, बाढी आएको रहेछ’
रसुवा मैलुङ प्रहरी चौकीमा कार्यरत कपिलवस्तु महाराजगन्ज नगरपालिका–४ का २३ वर्षीय आशिष गडरिया बुधबारदेखि परिवारको सम्पर्कमा छैनन् । आमा निर्मला र श्रीमती प्रियंका आशिषको फोनको प्रतीक्षामा छन् । ‘बुधबार ९बाढी आएको समय० बिहान साढे ८ बजेतिर श्रीमान्सँग फोनमा बोल्दै थिएँ । बोल्दाबोल्दै फोन काटियो,’ प्रियंकाले भनिन्, ‘उताबाट फोन आएन । मैले गर्दा पनि फोन लागेन । आधा घण्टापछि बाढी आएको खबर आयो । छाँगाबाट खसेजस्तो भएँ । ५ दिन भइसक्यो । केही खबर पाउन सकेको छैन ।’
गत वैशाखमा बिहे गरेर आशिष जागिरमा फर्किएका थिए । उनले १७ महिनाअघि मात्र प्रहरी जवानमा नाम निकालेका थिए । ९ महिनाको तालिम सकेर मैलुङमा पहिलो पोस्टिङ भएका थिए ।
बाढीमा बगेर पूर्वी नवलपरासी पुगेका ६ वटा शव कपिलवस्तुको पिपरा अस्पतालमा ल्याएको सुनेर गडरिया परिवार त्यहाँ पुगेको थियो । तर त्यहाँ आशिषको अनुहार देखिएन ।
सामान्य परिवारका निर्मल छोरा खोज्न कतै जान सक्ने अवस्थाका छैनन् । परिवारको एक्लो छोरो कहिले फर्कन्छ भन्दै आमा निर्मला बिलौना गरिरहेकी छन् । ‘छोरालाई भेडा पालेर हुर्काइबढाइ गरेको थिएँ,’ बावु खेदुले भने, ‘छोरा सकुशल फर्कियोस् भनेर प्रार्थना गर्दै बसेको छु ।’
नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२ जना बाढीपछि सम्पर्कविहीन छन् । भन्सार कार्यालय टिमुरेका १३ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कमा छैनन् । लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयबाट ३र३ जना सम्पर्कविहीन छन् ।
‘भोकभोकै खोज्दा पनि केही खबर छैन’
सप्तरी विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका श्यामसुन्दर यादव ५ दिनदेखि भाइ ९मामाका छोरा० को खोजीमा छन् । रसुवास्थित उत्तरगया गाउँपालिका–५ नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत अजयकुमार भोटेकोशी बाढीदेखि सम्पर्कविहीन छन् । ‘बाढीको खबर सुनेपछि भाइलाई फोन लगाएँ । सम्पर्क हुन सकेन,’ श्यामसुन्दरले भने, ‘बुधबार दिनभर फोन नलागेपछि भोलिपल्टै अजयका कान्छो भाइ जयप्रकाश यादवलाई साथमा लिएर काठमाडौं आएँ । भोलिपल्ट एकाबिहानै माइक्रो चढेर नुवाकोटको बट्टारसम्म पुगें ।’
उनीहरू त्यहाँ रहेको सेनाको ब्यारेकमा गए । ‘नेपाली सेनाले टाँसेको उद्धार गरिएका व्यक्तिहरूको सूची हेर्दै बस्यौं । कत्तै अजयको पनि नाम देखिन्छ कि भन्ने आशा गरेका थियौं,’ उनले सुनाए, ‘सेनाले प्रत्येक पटक हेलिकोप्टरमार्फत उद्धार गरेर ल्याउने व्यक्ति मेरो भाइ नै हो कि भन्ने पनि लाग्थ्यो ।’ त्यहाँ अजयकुमार नभेटिएपछि विद्यालयसम्मै पुग्ने प्रयास गरे । तर त्रिशूली माथिका सडक, पुल बगेकाले सम्भव भएन ।
विद्यालयमा सम्पर्क गर्दा पनि केही खबर नपाएको श्यामसुन्दरले बताए । पुनः बाढीको हल्लापछि उनीहरू काठमाडौं फर्किए । ‘प्रहरी प्रधान कार्यालय पुगेर भाइको मोबाइल ट्रेस पनि गरायौं । बेत्रावतीबाट १०र१२ किलोमिटरको रेन्जमा लोकेसन देखिएको जानकारी पाइयो तर त्यहाँसम्म उद्धार टोली पुग्नै नसकेको खबर मिडियामा देखियो,’ उनले थपे, ‘म जस्ता सयौं परिवार सम्पर्कविहीन आफन्तको खोजीमा ४र५ दिनदेखि भोकभोकै भौंतारिरहेको छ तर प्रभावित क्षेत्रसम्म उद्धार टोली पुग्न नसक्दा चित्त दुखेको छ ।’
तस्बिर बोकेर अस्पताल धाउँदै आफन्त
रूपन्देहीको सियारी–३ बेतहीका हुमनाथ न्यौपाने तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको शव पहिचान कक्षमा भेटिन्छन् । उनको सर्टको गोजीमा रसुवाकै नौकुण्ड गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी २८ वर्षीय प्रकाश देवकोटाको फोटो छ । भान्जीज्वाइँ देवकोटा रसुवाको भन्सार कार्यालयमा तीन वर्षदेखि भन्सार एजेन्टका रूपमा कार्यरत थिए । बाढीपछि उनी सम्पर्कमा छैनन् ।
कतै शव पो भेटिन्छ कि भन्ने आशामा हुमनाथ शनिबारदेखि निरन्तर अस्पतालको शव पहिचान कक्ष पुग्ने गरेका छन् । उनले फेसबुकबाट प्रकाशको तस्बिर निकालेर प्रिन्ट गरेका छन् । त्यही तस्बिर गोजीमा राखेर अस्पताल पुग्छन् । उनले शव पहिचान कक्षमा खटिएका प्रहरी हवल्दार नवीन बस्नेतलाई पटक–पटक तस्बिर देखाउँदै सोधिरहेका थिए, ‘यो मान्छेको अनुहार मिल्छ कि राम्ररी हेरिदिनुस् न सर ।’
बाढी आएको दिन बिहानसम्म प्रकाश परिवारको सम्पर्कमा थिए । त्यसपछि भने कसैसँग सम्पर्क छैन । ‘उद्धार भइरहेको खबर आइरहेको छ । कतै उद्धार भएर बसेका पो छन् कि भन्ने आशा पनि छ,’ हुमनाथले भने, ‘पहिचान नभएका शवको व्यवस्थापन गर्ने भन्ने हल्ला चलेपछि थप चिन्ता लागेको छ ।’ प्रकाशकी श्रीमती शिक्षण पेसामा छिन् । उनीहरूका एक सन्तान छन् । प्रकाश परिवारसँगै रसुवामै बस्दै आएका थिए । परिवारका अरू भने सकुशल छन् ।
ऋण काढेर छोरीको खोजीमा
बाँके राप्तीसोनारी गाउँपालिका–२ राजपुरकी २८ वर्षीया जानकी घर्तीमगर डेढ महिनादेखि रसुवास्थित सानीआमाको होटलमा काम गर्थिन् । बाढीपछि छोरी सम्पर्कविहीन हुँदा बुवा तिलक छोरी खोज्न निस्केका छन् । आइतबार चितवन पुगेका उनले भने, ‘छोरी हराएपछि मनले मानेन । खर्च पनि थिएन । गाउँमा ३० हजार ऋण खोजेर हिँडेको छु ।’
जानकी वैदेशिक रोजगारीमा जाने तयारीमा थिइन् । ‘छोरीले विदेश जान दिएको पैसा दलालले खाइदियो,’ बुवा तिलकले सुनाए, ‘होटलमा काम गरेर ऋण तिर्न रसुवा हिँडेकी थिइन् । बाढीपछि केही पत्तो पाउन सकेको छैन ।’
चितवनबाट माथि जान पुनः बाढीको जोखिम रहेको र सडक पनि बन्द रहेको हुनाले आफन्तले फर्कन सल्लाह दिएको उनले सुनाए । ‘चितवन प्रशासनमा छोरीको नाम टिपाएर फोटो पनि बुझाएको छु । अब घर नै फर्कन्छु होला,’ उनले भने ।
राप्तीसोनारीका कम्तीमा ५ जना बाढीपछि सम्पर्कविहीन रहेको वडा नं २ का अध्यक्ष ज्ञानेन्द्रराज वलीले बताए ।
साभार. कान्तिपुर दैनिक
प्रतिक्रिया