माण्डवी अनलाइन, प्युठान । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव प्युठान नगरपालिका एक खैरामा विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
कार्यक्रममा जिल्लास्थित उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको छ। चैतेधानतर्फ उत्कृष्ट कार्य गरेका स्वर्गद्वारी नगरपालिकाका जितेन्द्र केसी , अदुवा बेसारतर्फ उत्कृष्ट कार्य गरेका नौबहिनी गाउँपालिकाका सीताराम केसी, तरकारी तथा बिउ उत्पादन तर्फ उत्कृष्ट कार्य गरेको भन्दै अमर बहादुर जीएम मल्लरानी , ताजा तरकारी उत्पादन तर्फ प्युठान नगरपालिका ८ कि सरस्वती गिरी र व्यावसायिक कृषि उद्यमी भोजबहादुर बस्नेतलाई सम्मान गरिएको छ।
शिवशक्ति बहुउद्देश्य कृषि सहकारी संस्था प्युठान नगरपालिका १ का अध्यक्ष तिला बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसी रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि जिसीले कृषि उत्पादनमा लागेका उद्यमीहरूको मनोबललाई उच्च बनाउनका लागि यस्ता सम्मानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले कृषि क्षेत्रमा लागेकाहरूलाई स्थानीय सरकारले भूउपयोग वर्गीकरणमा कृषि क्षेत्रहरू छुट्टाइएका क्षेत्रहरूका कृषकहरुलाई विभिन्न कृषि सम्बन्धी अनुदान राहत वितरण गर्नुपर्ने बताउनुभएको छ। वर्गीकरणमा भूमिलाई आवासको क्षेत्रमा राख्ने तर कृषिबाट अनुदान ल्याउनु भनेको त्यो मिसम्याच भएको प्रमुख जिल्लाधिकारी पर्साइले बताउनु भएको छ ।
कार्यक्रममा प्युठान नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले नगरपालिकाले किसानहरूलाई किसान पेन्सनको रुपमा कार्यक्रम अगाडि बढाई प्रोत्साहन गरेको बताउनुभएको छ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ खलङ्गा प्युठानका प्रमुख चुमान सिंह गिरीले कार्यालयले चैतेधानको विस्तारमा जोड दिएको बताउनुभएको छ। उहाँले सुरुवातमा ४ सय हेक्टरबाट सुरुवात गरेको चैतेधान खेती अहिले ४ हजार ७ सय हेक्टरमा विस्तार भएको बताउनुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा प्युठानका अध्यक्ष श्रीराम भण्डारीले प्युठान जिल्लाको उर्वर भूमि प्युठान नगरपालिकाको झिम्रुक उपत्यका रहेकाले यसको संरक्षण अथवा यसको व्यवस्थित सहरीकरण के गर्ने भन्ने विषयमा नगरपालिकाले स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभएको छ।
कार्यक्रममा स्वागत गर्दै प्युठान नगरपालिका वडा नम्बर १ कि वडा अध्यक्ष साधना राउतले खैरा क्षेत्र उर्वर भूमि भएको र त्यस क्षेत्रमा सडक सञ्जालले छोए पनि यस क्षेत्रको फाँटलाई कृषि भूमिमै वर्गीकरणमा राखेको बताउनुभएको छ।
प्रतिक्रिया