प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले ६९ औँ प्रहरी दिवसको अवसरमा बिभिन्न ब्यत्तित्वहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्पहार माल्यार्पण गर्नुका साथै अमर प्रहरी परिवार, जेष्ठ पूर्व प्रहरी कर्मचारी, कार्यालयलाई विभिन्न माध्यमबाट सहयोग गर्ने कार्यालय र महानुभावहरुलाई प्रशंसा–पत्र र दोसल्ला ओढाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
कार्यालयले दिवसको अवसरमा विभिन्न समयमा सहकार्य गर्ने प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, प्यूठान र समाजिक डिभिजन कार्यालय प्यूठानलाई सम्मान गरेको हो । त्यस्तै स्वर्गद्धारी आश्रमका सहायक कोठारी रामचन्द्र अधिकारी, ऐरावती गाउँपालिका–५ का कलाकार अर्जुन गन्दर्व, प्यूठान नगरपालिका–८ का व्यवसायी प्रेमबहादुर थापालाई पनि सम्मान गरेको छ । यस्तै प्रहरी चौकी पुरन्ठाँटी (बरौंला) र देविस्थानलाई निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादातालाई समेत सम्मान गरिएको थियो ।
कार्यालयले दिवसकै अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकृत तथा कर्मचारीहरुलाई नगद पुरस्कार सहित पुरस्कृत गरेको छ । प्रहरी निरिक्षक केशव के.सी., प्रहरी सहायक निरिक्षक योगराज गुरुङ, प्रहरी हवल्दार नविन थापा, प्रहरी सहायक हवल्दार रेनु चौधरी र प्रहरी जवान माधव श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।
साथै दिवसको अवसरमा सञ्चालित टेवलटेनिस, ब्याडमिन्टन, हाजिरी जवाफ प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र सहित पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी)ले शान्ति सुरक्षा, अपराध अनुसन्धानमा नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताउनुभयो । प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेश बस्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गर्नु भएको थियो ।
प्रतिक्रिया