रबिन विश्वकर्मा, प्यूठान । चाडपर्व नजिकिएसंगै प्युठानमा बजार अनुगमनलाई तिब्र पारिएको छ । चाडपर्व लक्षित गरी जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा विभिन्न सरकारी निकायले बजार अनुगमन तिब्र पारेका छन् । दिनहुजसो हुने बजार अनुगमनका क्रममा बजारमा म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती भेटिने गरेको छ । जिल्लामा ३ दिनमा डेढ लाख बढिको म्याद नाघेका अखाद्य बस्तु बरामद गरिएको छ । असोज १३ गते देखि १५ गते सम्म बिजुवार,जुम्रि र बरांैलाका बिभिन्न पसलहरुमा गरिएको अनुगमनबाट १ लाख ५० हजार ८ सय ५५ रुपैंयाको म्याद नाघेका सामाग्री बरामद गरि नष्ट गरेको बजार अनुगमन समितीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकिय अधिकृत जालन्धर भुषालले जानकारी दिनुभयो ।
जिल्ला प्रशाशन कार्यालय प्यूठान, घरेलु तथा सान उद्योग कार्यालय र प्यूठान उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आईतबार बिजुवारमा गरिएको अनुगमनबाट ९१ हजार ६ सय ८८ रुपैया, सोमबार खलंगामा ५२ हजार ८ सय ६७ रुपैंया बराबरको सामाग्री बरामद गरेको बताउनुभयो । त्यस्तै आज ऐरावती गाउँपालिका २ बरौंलामा ६ हजार ३ सय रुपैंयाको म्याद नाघेका बस्तु बराबद गरि नष्ट गरेको बताउनुभयो ।
बिभिन्न खाद्यान्न तथा किराना पसल, कपडा, इलेक्ट्रोनिक पसल लगायत अन्य पसलहरुमा अनुगमन गर्दा पेय पदार्थ कोक, पेप्सी, प्याकेटका तयारी खानेकुराहरु भुजा, दालमोठ, चाउचाउ, बिस्कुट, कुरकुरे, मिठाई, सुजी, आटा, खाने तले तथा केहिथान म्याद नाघेका मदिरा समेत भेटिएको अनुगमन समितिले जनाएको छ । सबै भन्दा बढि पेय पदार्थ कोक, पेप्सी र म्याद नाघेको मदिरा नष्ट गरिएको छ ।
अनुगमनको क्रममा केहि पसलमा साइन बोर्ड, मुल्य सुची नराखेको, सामानको ब्याज लेबल, बिल जारी नभएको, ब्यवसाय दर्ता नविकरण नगरिएको, एउटा प्रकृतिको व्यवसाय दर्ता गरी विभिन्न सामान बिक्री हुँदै आएको, सामाग्री गोदाम ब्यवस्था उपयुक्त नभएको, पसलमा सरसफाइ नभएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार सबै प्रकृया पुरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न निर्देशन दिएको प्रशासकिय अधिकृत भुषालले जानकारी दिनुभयाे । अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह, सुझाब दिएको र अर्काे पटकको अनुगमनमा प्रकृया पूरा नगरेको, आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरकोे पाइए २ देखि ५ लाख रुपैंया सम्म जरिवाना गरिने बजार अनुगमन समितीका संयोजक भुषालको भनाई छ ।
ठुला ब्यापारीहरुबाट नै गाउँगाउँमा रहेका साना ब्यापारीहरुलाई म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले ब्यवसायी तथा उपभोक्ताहरुलाई सामानको उपभोग मिती हेरेर मात्रै सामान खरिद गर्न सचेत गराएको घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख मनी गुरुङ्गले बताउनुभयो ।
सामान बिक्रि वितरण गर्ने रिटिलर गाडीलाई सडकमै रोकेर अनुगमन
जिल्लामा सामान बिक्रि वितरण गर्ने रिटिलर गाडीहरुमा अनुगमन गर्न थालिएको छ । सहर तथा ग्रामिण स्तरमा संञ्चालनमा रहेका पसलहरुमा सामान बिक्रि वितरण गदै आएका गाडिहरुलाई सकडमै रोकी सामान अनुगमन गर्न थालिएको बजार अनुगमन समितीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रशासकिय अधिकृत जालन्धर भुषालले बताउनुभयो । जिल्लामा बजार अनुगमन गर्दा अधिकाश पसलहरुमा ठुला डिलरहरुबाटै म्याद नाघेका सामान राखि अन्य पसलहरुमा पठाउने गरेको पाइएकाले यसलाई नियन्त्रण गर्न यस्तो कदम चालेको बताउनुभयो ।
आज ऐरावती गाउँपालिका २ बरौंलामा बिभिन्न पसलहरुमा सामान पु¥याउन जान लागेका केहि गाडीहरुलाई बिच सडकमै रोकी सामानको म्याद नाघे ननाघेको चेक गरि पठाएको प्रशासकिय अधिकृत भुषालले बताउनुभयो । चेकजाँचको क्रममा सामानको म्याद सकिन १५÷ २० दिन बाँकि रहेका सामान समेत राखेर बिकि गर्न जान लागेको पाइएकाले बिक्रेताहरुलाई सचेत गराएको बताउनुभयो । साथै साहुहरुलाई पनि यसबारेमा सचेत गराउदै म्याद सकिन लागेका सामान अन्य पसलमा नपठाउन सुझाव दिने बताउनुभयो ।
जिल्लाका ठुला डिलर ब्यापारी तथा बाहिरबाट सामान बिक्रि वितरणका लागि आउने ब्यापारीहरुले नै म्याद सकिन लागेका र म्याद नाघेका सामाग्रीहरु गाउँगाउँमा रहेका साना ब्यापारीहरुलाई पठाउँदा रहेछन्,उहाँले भन्नुभयो । बजारमा म्याद गुज्रिएका सामान छ्याप छ्याप्ती भेटिने गरेको छ । अधिकृत भुषालले जिल्लाका सबै ठाउँमा सामान बिक्रि वितरण गर्ने रिटिलर गाडीहरुलाई सडकमै रोकी सामान अनुगमन गर्ने बताउनुभयो । म्याद नाघेका सामान भेटिएमा पुरै जफत गरी नष्ट गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया