logo

  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025

  •      Listen Radio Live

    प्युठानमा आगलागी जोखिम कम गर्न सचेतना कार्यक्रमलाई जोड दिने

    प्युठानमा आगलागी जोखिम कम गर्न सचेतना कार्यक्रमलाई जोड दिने

    रविन विश्वकर्मा,प्युठान । प्युठानमा आगलागी जोखिम न्यूनीकरण गर्न सचेतनामुलक कार्यक्रमलाई जोड दिईने भएको छ ।बिहिबार जिल्ला समन्वय समतिको सभाहलमा  बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले जिल्लामा निर्माण गरिएको आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्ययोजना २०८१ लाई अनुमोदन गरी कार्यान्वयन गर्दै समुदाय स्तरमा सचेतनामुलक कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको हो । यस्तै सबै स्थानिय तहमा अनिवार्य रुपमा आपतकालिन कार्य संञ्चालन केन्द्र स्थापना गर्ने निर्णय पनि गरिएको छ  ।

    आगलागीको समय सुरु भइसकेकाले आगलागी,हावाहुरी तथा अन्य विपदका घटनाको कारण धनजनको क्षति हुन नदिन र जोखिमबाट बच्न सबै स्थानीय तह, डिभिजन वन कार्यालय, नेपाल रेडक्रस सोसाईटी, सरकारी तथा गैर सरकारी निकाय लगायतले आफु र मातहतका निकायमा विपद जोखिम न्युनिकरण तथा सचेतनामुलक कार्यक्रम अनिवार्य रुपमा संञ्चालन गर्ने निर्णय गरेको विपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिनुभयो । जनचेतनाको अभावका कारण जिल्लामा आगलागीका घटना बढ्दै गएकाले बस्ती तथा सुमुदाय स्तरमा कानुनी सचेतनालाई विशेष जोड दिनुपर्ने बताउनुभयो । प्रजिअ आचार्यले जिल्लामा हुन सक्ने संभावित जोखिम, त्यसबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न तत्पर लागि परेको बताउनुभयो । ९ वटै स्थानीय तहमा आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम सम्पन्न गरि ६४ वटै वडामा कार्यदल निमार्ण समेत गरेको बताउनुभयो । जोखिम न्यूनीकरण गर्न कार्ययोजना बनाए पनि पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सबैलाई कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो ।

    यस्तै जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसीले आगलागीको जोखिम न्युनिकरण गर्न सामुदायिक वन मार्फत उपभोक्ताहरुलाई सचेत गराउदै परिचालन गर्न सके धेरै मात्रामा जोखिम कम गर्न सकिने बताउनुभयो । समुदायका नागरिक नै सबै भन्दा पहिले प्रत्यक्ष जोडिने हुँदा जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम, सामाग्रीका बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो ।

    प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले निर्वाचन रणनीतिक सडक योजनाका कारण प्रभावित बुढदेवी, भुषबाङ, मजुवा लगायतका बस्तीको बिषयमा सबैले चासो दिनुपर्ने बताउनुभयो । बर्खायाम नजिकिन अब २/३ महिना मात्रै बाँकि रहेको बताउदै यो बिचमा बस्तीमा केही गर्न नसके थप विकराल समस्या उत्पन्न हुने बताउनुभयो । नगर प्रमुख योगीले बुढदेवी बस्तीलाई सुरक्षित बनाउन, भुषबाङ खोला पहिरो नियन्त्रण, तटबन्ध लगाएका आवश्यक सुरक्षित भौतिक संरचना निर्माण कार्य तत्काल अगाडि बढाउनका निमित्त पहल गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

    डिभिजन वन कार्यालय प्यूठानका प्रमुख डिभिजनल वन अधिकृत धनीश्वर न्यौपानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह, समुदायलाई परिचालन गरिने बताउनुभयो । आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

    बैठकमा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी रोशन लगायतका सहभागीहरुले भनाइ राख्नुभएको थियो । बोल्ने बक्ताहरुले जिल्लामा उत्पन्न विभिन्न प्रकारका विपदको कारण, समस्या तथा चुनौतीहरुको खोजिनिति गर्दै विपद पुर्व तयारी तथा प्रतिकार्यमा जुट्नुपर्नेमा जोड दिएका थिए । बैठकमा स्थानीय तहका प्रमुख, राजनीति दल, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । बैठकबाट बिभिन्न विपदबाट प्रभावित ब्यक्तिहरुलाई संघ तथा प्रदेश स्तरबाट उपलब्ध गराइएको राहत रकमको खर्च तथा सामाग्रीको अनुमोदन गरिएको छ ।



    mandavionline mandavionline    
  • १५ फाल्गुन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP