रविन विश्वकर्मा,प्युठान । पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियानको सबै तयारी पूरा भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । भोलि माघ २२ देखि २८ गते सम्म जिल्लामा संञ्चालन हुने खोप अभियानको सबै तयारी पुरा भएको स्वास्थ्य कार्यालय प्युठानका कोल्डचेन निरीक्षक कौशलराज वैद्यले जानकारी दिनुभयो । जिल्लाका ९ वटै स्थानिय तहमा खोप पु¥याइएको र स्वास्थ्यकर्मीलाई आवश्यक प्रशिक्षण समेत दिइएको उहाँले बताउनुभयो ।
प्यूठानमा १३ हजार ७ सय ६३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिइने भएको छ । जिल्ला भित्रका कक्षा ६ देखी १० कक्षा सम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप दिन लागिएको हो । जिल्लाका १५० बिद्यालय तथा ६५ स्थानको खोप केन्द्र मार्फत जिल्लाका ९ स्थानिय तहका बिद्यालय कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ५४६ जना छात्रा र बिद्यालय नजाने १० देखि १४ वर्षसम्मका २ सय १७ जना किशोरीहरूलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले जानकारि दिनुभयो ।
उहाँका अनुसार गौमुखी गाउँपालिकामा बिद्यालयमा अध्ययनरत १ हजार ४४८ र बिद्यालय बाहिर रहेका ७७ जनागरि १ हजार ५२५, नौबहिनी गाउँपालिकामा मा १९५६, झिमरूक गाउँपालिकामा १ ४ ६९, प्यूठान नगरपालिकामा २५६५, स्वर्गद्वारि नगरपालिकामा १७४६, माण्डवी गाउपालिकामा ११५३, मल्लानी गाउँपालिकामा ९३३, ऐरावती गाउँपालिकामा १००८ र सरूमारानी गाउँपालिकामा १४०८ गरी १३ हजार ७६३ जनालाइ खोप दिन लागिएको हो ।
अभियानका क्रममा हरेक सरकारी तथा निजी विद्यालयमा गएर खोप लगाउने र विद्यालय बाहिरका किशोरीलाई नजिकको पायक पर्ने विद्यालयमा व्यवस्था मिलाइएको कार्यालय प्रमुख मधुसुदन खडकाले जानकारी दिनुभयो । किशोरावस्थामै खोप दिन सकेमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलालाई जोगाउन सकिने बताउनुभयो । खोप सुरक्षित भएको एचपीभी खोपको मात्रा एक डोज लगाए जीवनभर पुग्ने र पाठेघरको मुखको क्यान्सरको जोखिम धेरै कम हुने भएकाले ढुक्कसँग लगाउन खडकाले आग्रह गर्नुभएको छ ।
पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउन सरकारले पहिलो चरणमा खोप, दोस्रो चरणमा परीक्षण र तेस्रो चरणमा उपचार बिधी सहित तीन चरणको रणनिती बनाएको छ । पहिलो चरणमा ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, दोस्रो चरणमा ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र तेस्रो चरणमा परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले भोलि देखि देशैभर खोप अभियान सुरु गर्न लागेको हो । देशव्यापी खोप कार्यक्रम भने माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया