प्युठान नगरपालिकामा आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा डिभिजन वन कार्यालय प्यूठानसंगको सहकार्यमा प्युठान नगरपालिकाको सभाहलमा आज कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटना हुन नदिन काम गर्नुपर्ने बताउनुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जिल्लाका सबै पालिकामा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन लागि परेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । कार्ययोजना अनुसार वडा अध्यक्ष संयोजक रहने गरि समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ । कार्यदलले सम्पर्क ब्याक्ति तोकि प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयंत्र समितिमा जानकारी गराउन कार्यदललाई प्रमुख जिल्ला अधिकारी आचर्यले आग्रह गर्नुभयो ।
डिभिजन वन कार्यालयका प्यूठानका प्रमुख डिभिजनल वन अधिकृत धनीश्वर न्यौपानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह समुदायलाई परिचालन गरिने बताउनुभयो । आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो । कार्यालयका प्रमुख न्यौपानेका अनुसार गतवर्ष जिल्लामा १६८ वटा आगलागीका घटना भएका थिए भने ९ जनालाई कानुनी कार्वाही भएको थियो । वन ऐन २०७६ अनुसार आगलागीमा सम्लग्न दोषीलाई बिगो असुल सहित ६० हजार जरिवाना, तीन वर्ष कैद सजाय वा दुबै सजाय हुने कानुनी ब्यबस्था छ ।
कार्यक्रममा नगरपालिकाका सबै वडा अध्यक्ष, सुरक्षा निकाय, गैह्रसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, बनसंग सम्बन्धि उपभोक्ता समितिहरुको सहभागीता रहेको थियोे ।
प्रतिक्रिया