रविन विश्वकर्मा,प्युठान । प्युठानमा संञ्चालित समुदायमा आधारित स्वयंसेवक उद्धारकर्मी विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म प्युठानको आयोजनामा मंसिर २३ गते देखि प्युठान नगरपालिका ३ स्थित बाल मन्दिर प्राबिमा संञ्चालन भएको ३ दिने तालिम आज सम्पन्न भएको हो । विपद् प्रतिकार्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सशस्त्र प्रहरी बलले पालिका तथा समुदाय तहको विपद् प्रतिकार्यका लागि क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरेको हो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) ले प्राकृतिक प्रकोप, बाढि, पहिरो, आगलागी, लगायतका विपद जन्य घट्नामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी तथा उद्धारकर्मीले महत्वपुर्ण योगदान गदै आएको बताउनुभयो । गुल्मद्धारा आयोजित महत्वपुर्ण तालिमले जिल्लाको बिपद प्रतिकार्यमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । विपद् प्रतिकार्यको पहिलो उद्धारकर्ता समुदाय भएको हुँदा तालिममा सिकेका कुराहरु समुदाय स्तरका अन्य नागरिकलाई सिकाउन आग्रह समेत गर्नुभयो ।
यस्तै प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले बिपद प्रतिकार्य योजना बनाउन आवश्यक रहेको बताउनुभयो । विपद कहिल्यै पनि बजा बजाएर नआउने भएकाले सबैले यसको पुर्वतयारी गर्न जरुरी रहेको बताउनुभयो । नगर प्रमुख योगीले बिपदबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न नगरपालिकाले बिपद प्रतिकार्यमा जोड दिएको बताउनुभयो । विपद्को जोखिम घटाउन आवश्यक तालिमको ब्यवस्था सहित उद्धारको बेला आवश्यक स्रोत साधन उपलब्ध गराउन नगरपालिका तयार रहेको समेत बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत बिपद प्रतिकार्य स्वयंसेवक उत्पादन गर्ने उदेश्यका साथ तालिम संञ्चालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक रोहित बहादुर घिमिरेले जानकारी दिनुभयो । तालिममा नौ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी ३६ जना स्वयंसेवक प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । तालिममा विपद् व्यवस्थापनसँग सम्बन्धीत स्वास्थ्य उपचार सेवा, विपद्को बेला उद्दार गर्ने र सुरक्षित हुने तरीका, अग्नी नियन्त्रण, भिर तथा खोचमा पसेका हरुको उद्धार, भत्किएको घरको जाँच, भुकम्पको बेला गर्न हुने तथा नहुने कार्य लगायतका अन्य महत्वपुर्ण विषयमा सैदान्तिक तथा प्रयोगात्मक रुपमा तालिम दिएको घिमिरेले जानकारी दिनुभयो । विपद् प्रतिकार्यको पहिलो उद्धारकर्ता समुदाय भएको हुँदा विपद्को जोखिम घटाउन समुदायस्तरमा स्वयमसेवक परिचालन गर्न सके विपद्को जोखिम कम गर्न सकिने उहाँको भनाई छ ।
समापन कार्यक्रममा प्युठान नगरपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ, डिभिजन वन कार्यालय प्युठानका प्रमुख धनेश्वर न्यौपाने, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
तालिमका फोटोहरु
प्रतिक्रिया