नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आज (बिहीबार) वडा अधिवेशन गर्दैछ ।
नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो । देउवा पक्षले आफ्नो १५औँ महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ ।
सोहीअनुसार देउवा पक्षले असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको जनाएको छ । उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको बताइएको छ ।
देउवा पक्षका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको छ भने आजदेखि सुरु हुने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजकसमेत खटाइएको छ ।
यसै क्रममा देउवा समूह निकट नेपाली कांग्रेस प्युठानको नियमित महाधिवेशनका लागि सम्पर्क कार्यालय उद्घाटन गरिने भएको छ । प्युठान नगरपालिका–४, बिजुवारस्थित खेलकुद मैदान अगाडि रहेको सम्पर्क कार्यालयको उद्घाटन बिहिबार बिहान साढे ११ बजे हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया