प्यूठान । प्यूठानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले दुई रात सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय प्युठानले आज एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार साउन २८ र २९ गते जिल्लाका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले रातको समयमा सवारी सञ्चालन नगर्न आग्रह गरेको हो।
प्रशासनले दुवै दिन बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ। वर्षाका कारण बाढी तथा पहिरोको जोखिम हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न र सुरक्षित स्थानमा बसोबास गर्नसमेत आग्रह गरिएको छ। माडी, झिमरुकलगायत नदी तथा साना–ठूला खोला किनारका बस्तीमा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
यस्तै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयबाट जारी हुने विपद्सम्बन्धी सूचनाबारे जानकार भई सोहीअनुसार गर्न आग्रह गरिएको छ।
विपद्का कुनै घटना भएमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर १२३४, नेपाल प्रहरीको आपत्कालीन नम्बर १००, स्थानीय तह वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
प्रतिक्रिया