शिखर गौतम जिल्ला कार्यक्रम संयोजक (DPC), BNMT Nepal, प्युठान
हरेक वर्ष मार्च २४ का दिन विश्वभर ‘विश्व क्षयरोग दिवस’का रूपमा मनाइन्छ। यस दिनले सन् १८८२ मा डा. Robert Koch क्षयरोग (टीबी) को जीवाणु पत्ता लगाएको ऐतिहासिक उपलब्धिलाई सम्झाउने मात्र होइन, विश्वबाट टीबी अन्त्य गर्ने प्रतिबद्धतालाई अझ सशक्त बनाउने अवसर पनि प्रदान गर्दछ।
नेपाल जस्तो विकासोन्मुख देशमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। सरकारी तथा गैरसरकारी प्रयासहरू हुँदाहुँदै पनि टीबीका नयाँ बिरामीहरू प्रत्येक वर्ष भेटिनु, केही बिरामी समयमै उपचारमा नआउनु, र समाजमा अझै विद्यमान भ्रम तथा कलङ्क (stigma) यस रोग नियन्त्रणका चुनौतीहरू हुन्।
प्युठान जिल्लामा पनि क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। BNMT Nepal ले स्वास्थ्य कार्यालयसँग समन्वय गरी टीबी बिरामीको पहिचान, निःशुल्क उपचार, सम्पर्क परीक्षण (contact tracing), र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यहरू निरन्तर गरिरहेको छ। यस वर्षको विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय प्युठानमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्, जसमा स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा टीबी च्याम्पियनहरूको सक्रिय सहभागिता रहेको छ।
टीबी पूर्ण रूपमा निको हुने रोग हो भन्ने सन्देश अझै पनि सबै समुदायसम्म पुग्न जरुरी छ। यदि दुई हप्ताभन्दा बढी समयसम्म खोकी लागिरहेमा, तौल घट्दै गएको महसुस भएमा, राति पसिना आउने, ज्वरो आउने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनु अत्यन्त आवश्यक हुन्छ।
समाजमा टीबी बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ। टीबी कुनै श्राप वा लाजमर्दो रोग होइन, यो एक साधारण संक्रमणजन्य रोग हो जसको समयमै उपचार गर्दा पूर्ण निको हुन्छ। त्यसैले बिरामीलाई हौसला दिने, उपचारमा निरन्तरता दिलाउने र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने हाम्रो साझा दायित्व हो।
आजको दिनमा हामी सबैले ‘टीबी अन्त्य’ हाम्रो सामूहिक लक्ष्य हो भन्ने कुरा स्मरण गर्नुपर्छ। सरकार, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी तथा समुदायको सहकार्यबाट मात्र हामी यो लक्ष्य हासिल गर्न सक्छौं।
अन्त्यमा, विश्व क्षयरोग दिवसको अवसरमा सम्पूर्ण सरोकारवालालाई टीबी विरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दछु। “हो, हामी टीबी अन्त्य गर्न सक्छौं” भन्ने विश्वासका साथ अगाडि बढौँ।
प्रतिक्रिया