प्रमोद ओली,प्युठान। गौमुखी गाउँपालिका–७ नारीकोटस्थित भूमिकाथान आधारभूत विद्यालयका शिक्षक प्रवीण रोका क्षेत्रीले २१ वर्षको कलिलै उमेरमा शिक्षाको उज्यालो छर्दै समाजमा अनुकरणीय कार्य गरेका छन्। ब्याचलर शिक्षाशास्त्र संकायको दोस्रो वर्षमा गौमुखी क्याम्पस मच्छिमा अध्ययनरत रोकाले विद्यालय शिक्षण समयबाहेक अन्य समयमा स्थानीय विद्यार्थीहरूलाई कोचिङ कक्षा सञ्चालन गरिरहेका छन्।
उनको यो प्रयास २०८२ जेठ २९ गतेदेखि सुरु भएको हो। कोचिङ कक्षामा सामुदायिक र बोर्डिङ दुवै विद्यालयका गरी आठजना विद्यार्थीहरू सहभागी छन्। प्रवीणले विद्यार्थीहरू विद्यालयबाट घर फर्किएपछि मोबाइलमा भुल्ने, खेल खेल्ने र घरमा पढ्ने वातावरण नहुने समस्यालाई मध्यनजर गर्दै यो कक्षा सञ्चालन गरेको बताएका छन्। उनका अनुसार विद्यार्थीहरू पनि निकै खुसी भएर पढिरहेका छन्। उनको यो कार्यको स्थानीयदेखि सामाजिक सञ्जालसम्म चौतर्फी प्रशंसा भइरहेको छ।
प्रवीणले बिहान साढे ६ बजेदेखि सवा ८ बजेसम्म कोचिङ कक्षा लिन्छन् भने शनिबार बिहान १० बजेसम्म पढाउँछन्।
अभावबाट प्रेरणा पाएको जीवन
प्रवीणको जीवनकथा निकै मार्मिक छ। चार दिदीका एक मात्र भाइ प्रवीणका एक बहिनी पनि छन्। उनका बुवा गुमान सिँह रोक २०६५ सालमा मधेसमा दाइको काजक्रिया गरेर फर्कने क्रममा गाडी दुर्घटनामा परी राप्ती नदीमा बेपत्ता भएका थिए। अहिलेसम्म न त सास भेटिएको छ न त लास नै।
बुवाको अभावमा प्रवीणकी आमाले गाउँकै एक बोर्डिङ स्कुल र श्री अमृत जीवन माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रूपमा काम गरी आफ्ना सन्तानलाई उच्च शिक्षा दिलाउन अथक प्रयास गरिन्। आमाको संघर्ष र त्यागले नै प्रवीणलाई आज यो स्थानसम्म पुर्याएको हो। अभावले भरिएको बाल्यकाल र बुवाको असामयिक निधनको पीडालाई प्रवीणले आफ्नो प्रेरणाको स्रोत बनाएका छन्।
प्रवीणको यो प्रयासले शिक्षाको महत्त्वलाई उजागर गरेको छ र अभावका बाबजुद पनि दृढ इच्छाशक्ति र कडा परिश्रमले ठूला सपनाहरू पूरा गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। उनको यो उदाहरणीय कार्यले अन्य युवाहरूलाई पनि समाज सेवामा लाग्न प्रेरित गर्ने निश्चित छ।
प्रतिक्रिया