रविन विश्वकर्मा,प्यूठान । चाडपर्व नजिकिएसंगै प्यूठानमा अवरुद्ध भएका ग्रामीण सडक मर्मत गर्न थालिएको छ । बडादशैँ लगायतका चाडपर्व नजिकिँएसंगै जिल्लाका स्थानिय तहहरुले अवरुद्ध सडक मर्मत गर्न थालेका छन् । जिल्लाका ९ वटै स्थानीय तहले ग्रामीण सडक सुचारु गर्न उपभोक्ता समिति गठन गरी सडक मर्मत कार्यलाई तिब्रता दिएका छन् ।
सरुमारानी गाउँपालिकाले १६ गते देखि अवरुद्ध ग्रामीण सडक मर्मत गर्न थालेको छ । दशै अघि नै गाउँपालिकाभित्र अवरुद्ध भएका सबै सडक सुचारु गर्ने सरुमारानी गाउँपालिकाका प्रवक्ता तथा ४ नंम्बर वडा अध्यक्ष चिन्त सोमै मगरले जानकारी दिनुभयो । सडक मर्मत गर्न पालिकाले आफ्नै २ वटा डोजर परिचालन गरेको छ । प्रत्येक वडामा सडक मर्मत संम्भार समिति गठन गरी मर्मत कार्यलाई अगाडि बढाएको वडा अध्यक्ष सोमै मगरले बताउनुभयो । सडक मर्मतको लागि १६ लाख ७५ हजार रुपैंया बजेट विनियोजन गरेकोे जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नंम्बर १ मा १ लाख ७५ हजार, २ नंम्बर वडामा २ लाख, वडा नंम्बर ३ र ४ मा २ लाख ५० हजार, वडा नंम्बर ५ र ६ मा ४ लाख रुपैंयाका दरले बजेट विनियोजन गरिएको छ ।
मल्लरानी गाउँपालिकाले पनि सडक खुलाउन आफ्नै डोजर लगाउन थालेको छ । सप्तमी सम्म सबै वडामा अवरुद्ध ग्रामीण सडक मर्मत गर्र्ने गरी काम थालेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो । पालिकाको डोजरले वडा नंम्बर १ को तल्लो भाग र ३ नंम्बर वडामा सडक मर्मत कार्य गरिहेको बताउनुभयो । गाउँपालिकाको एउटा मात्रै डोजरले सबै वडामा दशै अगाडि अवरुद्ध ग्रामीण सडक मर्मत गर्र्न नभ्याउने भएकाले वडा नंम्बर १ को माथिल्लो भाग, २ ,४ र ५ नंम्बर वडामा प्राइभेट डोजरको प्रयोग गरी सडक खुलाउन गाउँकार्यपालिकाको बैठकबाट निणर्य गरी वडा अध्यक्षहरुलाई आग्रह गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
प्यूठान नगरपालिकाले पनि दशै अगाडि सम्म अवरुद्ध ग्रामीण सडक संञ्चालन गर्ने गरी अगाडि बढेको उपमेयर देबेन्द्र ब्रर्माले बताउनुभयो । अहिले बाग्दुला देखि प्यूठान नगरपालिका १० बतासे डाँडा सम्म सडक मर्मत कार्य भैरहेको बताउदै बाँकि ठाउँहरुमा पनि सडक मर्मत गर्न वडाहरुलाई आग्रह गरेको बताउनुभयो । सडक मर्मत सम्भार शिर्षकमा विनियोजन गरिएको २० लाख रुपैंया बजेटबाट खर्च गर्ने गरी गाउँपालिकाका सबै वडामा सडक मर्मत गर्न डोजर प्रयोग गरिएको गौमुखि गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।
जिल्लाका नौबहिनी, झिमरुक, ऐरावती, माण्डवी गाउँपालिका, स्वर्गद्धारी नगरपालिकाले पनि ग्रामीण सडक खुलाउन काम सुरु गरेका छन् । अब सक्रिय मनसुन सकिएकाले मर्मत गरेपछि सडकमा सवारी गुडाउन सहज हुने सवारी चालकहरुले अपेक्षा गरेका छन् ।
प्रतिक्रिया