logo

  • ३० बैशाख २०८२, मंगलवार | Tue, 13 May 2025

  •      Listen Radio Live

    जहाँ मन्दिरको मुख्य पुजारी दलित समुदायका छन्

    जहाँ मन्दिरको मुख्य पुजारी दलित समुदायका छन्

    दर्जनौ कोट तथा शक्तिपीठहरू रहेको प्यूठानमा जातीय विभेद खेप्ने घटनाहरू घटिरहेका हुन्छन । सामाजिक अपराधको रूपमा रहेको जातीय विभेदको सिकार कोटहरूको पुजाबाट पनि दलित समुदायले नभोगेको होइन । तर प्यूठानकै यस्तो ठाउँ छ जहाँ दलित मुख्य पुजारी र गैर दलित सहायक पुजारी भएर मन्दिरको पुजा विधि धानिदैं आएको छ ।
    प्यूठानको ऐरावती गाउँपालिका– ३ जावुनेदह स्थित आलमदेवी भगवतीको मन्दिरमा मुख्य पुजारी कामी अर्थात दलित समुदायका छन भने सहायकमा ब्राम्हण र घर्तिमगरले करिव ७ दशक देखि आलमदेवीको पुजापाठ गर्दै आएका छन ।
    अहिले पनि देशका कतिपय ठाउँमा दलितहरूलाई अछुत भन्दै मन्दिर दर्शनमा रोक लगाईन्छ । पानी र खानेकुरा छोएको निहुँमा हुने कुटपिट र दुव्र्यवहारका नमिठा समाचार आइरहन्छन । तर यहा अन्य जातजातिका मानिसहरू आस्थापूर्वक पूजाआजाका लागि जाने गरेका छन् । दर्शनार्थीहरूले दलित पुजारीले दिएको फूल, प्रसाद र टीका खुसीले ग्रहण गर्छन ।

    आशीर्वाद लिन्छन् । दलित र गैरदलित पुजारी मिलेर पुजाको विधि पु¥याउँछन् । जहाँ कुनै जातीय भेदभाव र छुवाछूत छैन । मन्दिरका मुख्य पुजारी रहेका रबिन सुनारले दलित भनेर आफूलाई आजसम्म कसैले पनि नराम्रो व्यवहार नगरेको बताए । उनले भने,‘मलाई सबैले पुजारी भनेर सम्मान गर्नुभएको छ । सबैले मेरै हातबाट टीका–प्रसादी ग्रहण गर्नुहुन्छ ।’ यो मन्दिरमा दशैंको प्रत्येक कोजाग्रत पूर्णीमाको दिन ठुलो मेला लाग्ने गर्दछ । यस मन्दिरमा २०१७ साल देखि नियमित दलित मुख्य पुजारी भएर पुजा गर्दै आएको पुजा व्यवस्थापन समितिका सल्लाहकार लिलामणी सुनारले जानकारी दिए । उनका अनुसार यहाँ कोजाग्रत पूर्णीमाको दिन बिहानै देखि होम गरी पुजाआजा गरिन्छ । दिउसो परेवा उडाउनुका साथै बोका, राँगाको बलि दिने गरिन्छ । यसरी आलमदेवीको पुजा गरेर देवीलाई खुशी पारेपछि तरबार (सराय) नाच्ने चलन रहेको सुनारले बताए ।
    यो कोटमा पहिलेदेखी नै कामीहरूले देवता निकाल्ने र राख्ने चलन छ । दसैंमा सराय खेल्ने तथा चवर (चौरी गाईको पुच्छर) नचाउने गर्दछन ।
    २०१७ सालभन्दा अगाडि तुलबहादुर कामी पुजारी रहेको देखिन्छ । त्यस यता डोरबहादुर कामी पुजारी थिए । २०७७ सालमा उनको निधनपछि छोरा रबिन सुनारले मुख्य पुजारीको काम गर्दै आएका छन् । कामी मुख्य पुजारी भए पनि बाहुन र मगर जातीबाट सहायक पुजारी छन् । हाल सालिकराम शर्मा र डम्बरबहादुर घर्ती मगर सहायक पुजारी छन् । पहिले त्यो कोटमा कुन जातिले राज्य गर्दथे भन्ने एकिन जानकारी छैन । प्युठानका ३८ ओटा कोटमध्ये कामी अर्थात दलित समुदायको पुजारी भएको यो मात्र एउटा कोट हो ।
    ऐरावती गाउँपालिका–३ का वडाअध्यक्ष पदम जि.सी.ले गाउँका सबैले दलित पुजारीलाई माया र सम्मान गर्ने गरेको बताए । उनले भने,‘यो धार्मिक सहिष्णुताको नमूना मन्दिर हो, यहाँ दलित र गैर दलितबीच कुनै पनि विभेद हुँदैन ।’
    आलमदेवी मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । जिल्लाका विभिन्न ठाउँबाट यो मदिर दर्शन गर्न आउने गर्दछन् ।

    बुटवल टुडे दैनिकबाट साभार



    mandavionline mandavionline    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP