logo

  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026

  •      Listen Radio Live

    अब प्यूठानमै दक्ष कुक उत्पादन: तीन महिने जनरल कुक तालिम सम्पन्न

    अब प्यूठानमै दक्ष कुक उत्पादन: तीन महिने जनरल कुक तालिम सम्पन्न

    प्यूठान । श्रम तथा रोजगार व्यवस्थापन कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ३९० घण्टे जनरल कुक (पाककला) तालिम शनिबार सम्पन्न भएको छ।

    घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजनामा २०८२ फागुन २९ गतेदेखि सञ्चालन भएको तीन महिने तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रेसन बहादुर कार्कीले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी रोजगार तथा आयआर्जनसँग जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

    समापन समारोहमा बोल्दै वडा अध्यक्ष कार्कीले विगतमा सञ्चालन गरिएका विभिन्न तालिमपछि उपलब्ध गराइएका सामग्रीहरू प्रयोगमा ल्याउनुको सट्टा घरमै थन्क्याउने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले सिकेको सीपलाई उत्पादनशील कार्यमा प्रयोग गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।

    उहाँले यस्ता सीपमूलक तालिम लिन जिल्ला बाहिर जानुपरे कम्तीमा एकदेखि डेढ लाख रुपैयाँसम्म खर्च हुने उल्लेख गर्दै जिल्लामै गुणस्तरीय कुक तालिम सञ्चालन गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा लोकराज थापाले तालिम सफलतापूर्वक पूरा गरेका १५ जना सहभागीलाई बधाई दिँदै प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अझ उत्कृष्ट प्रगति गर्दै स्वरोजगार तथा उद्यमशीलतामा लाग्न शुभकामना समेत व्यक्त गर्नुभयो।

    तालिमका प्रशिक्षक घनश्याम गिरीले सहभागीहरूलाई १०० भन्दा बढी प्रकारका परिकार तयार गर्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले सिकेको सीपलाई आफ्नो भविष्य निर्माणको महत्वपूर्ण हतियारका रूपमा उपयोग गर्न सुझाव दिनुभयो।

    प्यूठान नगरपालिका क्षेत्रमा रहेको होटल व्यवसायी संघको भवनमा सञ्चालन गरिएको उक्त तालिममा जिल्लाभरबाट छनोट भएका १५ जनाको सहभागिता रहेको थियो। तालिमले स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगारको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।



    mandavionline mandavionline    
  • २३ जेष्ठ २०८३ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP