प्यूठान । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस प्यूठानले जिल्लाका विभिन्न स्थानीय तहमा संगठनात्मक गतिविधि तीव्र बनाएको छ।
यही क्रममा आइतबार नेपाली काँग्रेस प्यूठानले दुई गाउँपालिकामा पालिका स्तरीय अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्दराज पोखरेलको उपस्थितिमा सरुमारानी गाउँपालिकाको दर्भान र माण्डवी गाउँपालिकाको जस्पुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पार्टीका जिल्ला नेताहरू, स्थानीय तहका जनप्रतिनिधि, अगुवा कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाका क्रममा डा. पोखरेलले स्थानीय विकास, समृद्धि र भावी योजनाका विषयमा विस्तृत धारणा राख्नुभएको थियो। उहाँले स्थानीय तहको आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुहुँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सुशासनलाई प्राथमिकतामा राखेर समृद्ध नेपाल निर्माणको साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित पार्टी भएको उल्लेख गर्दै संगठनलाई अझ सुदृढ र जनमुखी बनाउन कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। साथै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर सक्रिय रूपमा लाग्न सबै कार्यकर्तालाई आह्वान गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय नेताहरू तथा कार्यकर्ताहरूले यस क्षेत्रका विकासका समस्या, जनताको अपेक्षा र पार्टी संगठनलाई थप प्रभावकारी बनाउने विषयमा आ आफ्ना धारणा राख्नुभएको थियो। उहाँहरुले आगामी निर्वाचनमा काँग्रेसलाई अझ प्रभाबकारी ढंगले कामगर्न गाउँ–गाउँमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आगामी दिनहरूमा जिल्लाभर यस्ता भेटघाट, अन्तरक्रिया तथा चुनाव केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने नेपाली काँग्रेस प्यूठानले जनाएको छ।
प्रतिक्रिया