logo
  • २७ माघ २०८१, आईतवार | Sun, 09 Feb 2025

  •      Listen Radio Live

    प्यूठानका कृषक गड्यौंला मल उत्पादनतर्फ आकर्षित

    प्यूठानका कृषक गड्यौंला मल उत्पादनतर्फ आकर्षित

    रविन विश्वकर्मा,प्यूठान ।

    प्यूठान । प्यूठानमा गड्यौंला मलको उत्पादन गर्न सुरु गरिएको छ । प्राङ्गगारिक खेतीका लागि जिल्लाको सरुमारानी गाउँपालिका, स्वर्गद्धारी र प्यूठान नगरपालिकाका बिभिन्न स्थानमा मल उत्पादन गर्न सुरु गरिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले जनाएको छ । जिल्लाको सरुमारानी गाउँपालिका २ दर्भान, स्वर्गद्धारी नगरपालिका ९ जुडापाटा, प्यूठान नगरपालिका ४ बिजुवार र ८ नंम्बर वडाको उपल्लो गेजवाङ्गमा गड्यौंला मलको उत्पादन गर्न सुरु गरिएको छ ।एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानको आर्थिक सहयोगमा कृषकले गड्यौंला मलको उत्पादन गर्न थालेका हुन् । कार्यालयबाट सहयोग पाएसंगै जिल्लाका किसान ब्यवसायिक रुपमा गड्यौंला मल उत्पादन तर्फ आकर्षित हुन थालेका छन् ।सरुमारानी गाउँपालिका २ दर्भानका हाम्रो बहुउद्देश्य कृषि र्फामका संञ्चालक गमानसिंह गुरुङ्गले गड्यौंला मल उत्पादन गर्न थालेको २ बर्ष भयो । बाहिरबाट मल ल्याएर फलफुल लगायतका अन्य फार्म सञ्चालन गदै आएका उनी आजभोली आफैंले उत्पादन गरेको गड्यौंला मल प्रयोग गर्न थालेका छन् ।

    फार्ममै मल उत्पादन गर्न थालेदेखि अहिले बाहिरबाट मल कम ल्याउनुका साथै रासायनिक मलको प्रयोगमा समेत कमि आएको उनी सुनाउँछन् । गड्यौला मलले बालीनालीको उत्पादनमा वृद्धि हुनुको साथै माटोको उर्बरतालाई बचाई राख्ने र उत्पादित वस्तुहरु समेत अर्गानिक हुने गुरुङ्गले बताए । गुरुङ्गले आफुले प्रयोग गरेर बचेको मल बच्ने समेत गरेका छन् । र्फामबाट उत्पादित गड्यौला मल प्रतिकेजी ३५ रुपैंयामा स्थानियस्तर तथा दाङ्गमा बिक्रि गरेको उनले बताए । किसानहरु मल किन्नका लागि फार्ममै पुग्ने गरेका छन् । यस्तै स्वर्गद्धारी नगरपालिका ९ का पुर्ण बहादुर घर्ति मगरले पनि गड्यौंला मल उत्पादन गरेका छन् । रासायनिक मलले भन्दा गड्यौंला मलले उत्पादन राम्रो दिन थालेको बताए । गड्यौंला मलको प्रयोगले रासायनिक मलको उपलब्धता घटाउने, बाली विरुवाको वृद्धि विकास पनि छिटो हुने र अरु भन्दा गुणस्तर पनि राम्रो हुने भएका कारण मल उत्पादन गर्न थालेको बताए । सुवेच्छा कृषि फार्म मार्फत तरकारी तथा विरुवाको नर्सरी उत्पादन गदै आएका घर्तिले गड्यौंला मलले तरकारी तथा विरुवाको बेर्ना उत्पादन गर्न धेरै सहज भएको बताए । गड्यौंला मल राम्रोसंग पाकेको, मसिनो, मलिलो हुने भएकाले विरुवाले सजिलैसंग मल प्राप्त गर्ने हुदाँ पहिले गाईभैंसीको मल प्रयोग गर्नु भन्दा अहिलेको मलले राम्रो उत्पादन दिएको उनको अनुभव छ । “रासायनिक मल राख्दा उत्पादन, बोट बिरुवा राम्रो देखिए पनि १/२ महिनामै उत्पादन घट्दै जाने समस्या थियो अहिले त्यो समस्या हटेको छ ” उनले भने ।

    पछिल्लो समय रासायनिक मलको प्रयोग गर्ने क्रम बढ्दै गएकाले यसको प्रयोगमा कमि ल्याउँन र माटोको गुणस्तरलाई बचाई राखि अर्गानिक उत्पादनमा जोड दिन गड्यौंला मल उत्पादन सुरु गरिएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठान निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले जानकारी दिए । आजभोली जिल्लाका खेतबारीमा धेरैजसो रासायनिक मलको प्रयोग भैरहेको उनले बताए । “रासायनिक मलले क्षणिक रुपमा उत्पादकत्व वृद्धि भए पनि दीर्घकालीन रुपमा यसले मानव स्वास्थ्य र माटोमा समेत ठुलो क्षति पु¥याउँने भएकाले रासायनिक मलको प्रयोग बिना पनि उत्पादन बढाउन सकिन्छ भन्ने सन्देश दिन यो कदम चालेका छौं ” श्रेष्ठले भने । माटो ब्यवस्थापन कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९/८० देखि गड्यौला मल प्रर्दशन कार्यक्रम संञ्चालन गरेको निमित्त कार्यालय प्रमुख उमेश चन्द्र श्रेष्ठले बताए । पहिलो बर्ष २०७९/८० मा कार्यालयको तर्फबाट सत प्रतिशत अनुदान सहित २ लाख १० हजार रुपैंया लागतमा ३ वटा, आर्थिक बर्ष २०८०/ ०८१ कार्यालयको ३ लाख ६० हजार ८ सय ७५ रुपैंया अनुदान रकम र ब्यक्ति तथा र्फमको स्व लगानी १ लाख २१ हजार ६ सय २५ रुपैंंयाको लागतमा गेजवाङ्गमा ७ वटा गड्यौला मल प्रर्दशन संञ्चालन गरेको बताए । यो चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने श्रेष्ठको भनाइ छ ।

    गड्यौंला मलको लागि कपिलबस्तुबाट एसिना फोटिटा प्रजातिको गड्यौंला खरिद गरी कृषकलाई १० देखि ११ केजी सम्म उपलब्ध गराएको कार्यालयका कृषि अधिकृत केशव राज खनाले जानकारी दिए । गड्यौंला मल बनाउँन पहिले ३ मिटर लामो, १ मिटर चौडा र ६० सेन्टिमिटर उचाईको गड्यौंला पटि अर्थात गड्यौंला पाल्ने घर आवश्यक पर्ने बताए । गड्यौंला घर तयार भएपछि शुरुमा सबै भन्दा तल एक दुई सेन्टि मिटर सम्म हल्का बालुवा र मलिलो माटो राख्नुपर्छ, उनले भने, त्यसपछि गाईभैंसीको गोबर प्रयोग गर्ने, गोबरलाई ब्याड बनाएर राख्नुका साथै तरकारीका बोक्रा, पातपतिङ्गर कुहिले बस्तु प्रयोग गर्न सकिन्छ । त्यहि बनाएको ब्याडमा गड्यौंला राख्ने र माथिबाट बाक्लो जुटको बोरा अथावा कपडाले छोपिदिने र यसरी छोपेको कम्तिमा तीन महिनामा बुरबुर किसिमको गड्यौला मल तयार हुन्छ कृषि अधिकृत खनालले भने ।



    mandavionline mandavionline    
  • २७ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP