रविन विश्वकर्मा,प्युठान । गौमुखी गाउँपालिकामा आगलागी जोखिम न्यूनीकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना तथा डिभिजन वन कार्यालय प्यूठानसंगको सहकार्यमा गौमुखी गाउँपालिकाको सभाहलमा आज कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जिल्लाका सबै पालिकामा पालिका स्तरीय छलफल तथा कार्ययोजना कार्यान्वयन गराउन लागि परेको बताउनुभयो । उहाँले आगलागीका घटना हुन नदिन समयमै सबै सचेत भएर अगाडि बढ्न आग्रह गर्नुभयो । प्रजिअ आचार्यले आगलागी पुर्व जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने साबधानी, कानुनी बिषय, खोज तथा उद्दार सम्बन्धि तालिम बिषयमा अभियान संचालन गर्न जरुरी रहेको बताउनुभयो ।
यस्तै गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आगलागी न्यूनिकरणका लागि जिल्ला स्तरमा बनेको कार्ययोजनालाइ सबै वडा तहसम्म पुर्यायको बताउनु भयो । गाउँपालिका भित्रका सबै वडामा बिपद प्रतिकार्य योजना बनाएको बताउदै समिति गठन गरेरै काम गर्ने बताउनुभयो । अध्यक्ष गिरीले आगलागीका घटना रोक्नका लागि सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । जनप्रतिनिधि, बन उपभोक्ता समिति लगाएत सबै समुदायले आगलागीका घटना हुन नदिन काम गर्नुपर्ने बताउनुभयो । गर्मियाम सुरू नहुदै आगलागि न्यूनिकरणका लागि कार्यक्रम हुदा प्रभावकारी भएको बताउदै गिरीले यस बर्ष प्यूठानमा आगलागिका घटनाहरूमा कमि आउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा स्तरीय आगलागी पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन गरिएको छ । कार्ययोजना अनुसार वडा अध्यक्ष संयोजक रहने गरि समिति गठन तथा परिचालन गर्ने निर्णय भएको छ । कार्यदलले सम्पर्क ब्याक्ति तोकि प्रत्येक दिनको घटना विवरण जिल्ला सुरक्षा संयन्त्र समितिमा जानकारी गराउन कार्यदललाई प्रमुख जिल्ला अधिकारी आचर्यले आग्रह गर्नुभयो ।
डिभिजन वन कार्यालयका प्यूठानका प्रमुख डिभिजनल वन अधिकृत धनीश्वर न्यौपानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि कार्यालयले आफू मातहतका कार्यालय तथा विभिन्न वन उपभोक्ता समुह तथा समुदायलाई परिचालन गरिने बताउनुभयो । आगलागी लगाउने घटना घटाउने ब्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने बताउनुभयो । कार्यालयका प्रमुख न्यौपानेका अनुसार गतवर्ष जिल्लामा १६८ वटा आगलागीका घटना भएका थिए भने ९ जनालाई कानुनी कार्वाही भएको थियो । वन ऐन २०७६ अनुसार आगलागीमा सम्लग्न दोषीलाई बिगो असुल सहित ६० हजार जरिवाना, तीन वर्ष कैद सजाय वा दुबै सजाय हुने कानुनी ब्यबस्था छ ।
जिल्ला प्रहरी कार्यालयका प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले आगलागि नियन्त्रण सम्बन्धी कार्यालयबाट जिल्लामा विगतमा भए काम, जोखिम तथा भावि योजना, आगलागि जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने उपायको बारेमा जानकारी गराउदै सचेतनामुलक कार्यक्रममा जिल्लाका सबै स्थानिय तहमा गरिएको र आगलागि नियन्त्रणका लागि सुराकि समेत परिचालन गरिएको बताउनुभयो । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, जिल्लाका सुरक्षा निकाय, गैह्रसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सामुदायिक वन उपभोक्ता तथा समितीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो।
प्रतिक्रिया