रविन विश्वर्मा,प्युठान । महेन्द्र माध्यमिक विद्यालय खलंगा प्युठानमा १ लाख बढिको अक्षयकोष स्थापना गरिएको छ । मल्लरानी गाउँपालिका ४ खलंगा तेस्रो गल्ली निवासी स्थानिय हिरालाल गिरी र राधा गरीले विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा एक लाख एक हजार एक सय एक रुपैयाको हिरा–राधा छात्रवृत्ति कोष स्थापना गर्नुभएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको छात्रवृत्ती अक्षयकोष अभिवृद्धि गदै विद्यार्थीहरुलाई पढाईमा अभिप्रेरित गर्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको कोषका संरक्षक राधा गिरीले बताउनुभयो ।
कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत कक्षा ९ मा कक्षा प्रथम हुने १ जना छात्र र १ जना छात्रालाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने भएको छ । उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने गिरीले बताउनुभयो । शुक्रबार विद्यालयमा आयोजित ६७ औं वार्षिकोत्सव कार्यक्रममा राधा गिरीले उक्त कोषको रकम सहितको चेक विद्यालयका प्रधानाध्यापक विष्णु पौडेललाइ हस्तान्तरण गर्नुभएको हो ।
प्रधानाध्यापक पौडेलले चेक बुझ्दै विद्यालयको शैक्षिक क्षेत्रको विकासका लागि गिरी परिवारले गरेको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यवाद व्यक्त गर्नुभयो। कोषले विद्यार्थीहरुलाई पढाईमा अभिप्रेरित गर्नुका साथै विद्यालयको शैक्षिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया