रविन विश्वकर्मा, प्युठान । प्यूठान नगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयसंग कार्यसम्पादन सम्झौंता गर्न थालेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि लागि कार्यविधि तयार पारेर सम्झौंता गर्न थालिएको नगरपालिकाले जनाएको छ । मंगलबार वडा नंम्बर १ देखि ५ सम्मका २७ वटा सामुदायिक बिद्यालयका प्रध्यानध्यापक र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षबीच शैक्षिक सत्र २०८१ का लागि कार्यसम्पादन सम्झौंता गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बासु पण्डितले जानकारी दिनुभयो । बाँकि ५ वटा वडा २४ वटा बिद्यालयहरुसंग भोलि सम्झौता गरिने उहाँले बताउनुभयो । कार्यसम्पादन सम्झौंतामा ३१ वटा सुचक सहित विद्यालय ब्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, अतिरिक्त क्रियाकलाप, सिकाइ उपलब्धि र विविध गरी ५ वटा क्षेत्र तोकिएको छ ।
शैक्षिक सत्र समाप्त भएपछि विद्यालयले स्वमुल्याङ्कन फारम भरेर नगरपालिकामा पठाउने र पालिकाले अनुगमन मुल्याङ्कन गरेर ४ वर्गमा विभाजन गर्ने शिक्षा शाखा प्रमुख बासु पण्डितले बताउनुभयोे । कार्यसम्पादनमा ९० देखि १०० अंक ल्याउने उत्कृष्ट विद्यालयलाई नगद सहित सम्मान गर्ने, ७५ देखि ९० अंक सम्म प्राप्त गर्ने राम्रो विद्यालयलाई प्रशंसा पत्र, ५० देखि ७५ अंक ल्याउने सामान्य विद्यालयलाई सुधार पत्र र ५० अंक भन्दा कम ल्याउने बिद्यालयलाई लिखित स्पष्टिकरण माग गर्ने बताउनुभयो ।
गत असोज १४ गते बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैठकले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा एसईई नतिजा सुधारका लागि कार्ययोजना बनाई पालिकास्तर हुँदै विद्यालयमा पुर्याउने निर्णय गरेको थियो । नगरपालिकाले पनि यस अघि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कार्यविधि तयार पारिसकेकाले सोहि अनुरुप शैक्षिक सत्र २०८१ का लागि विद्यालयसंग कार्यसम्पादन सम्झौंता गर्न थालिएको पण्डितले जानकारी दिनुभयो । कार्ययोजनाको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्दै जाने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगिले शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षकको एक्लो प्रयासले मात्रै शैक्षिक गुणस्तर अभिवृद्धि नहुने उल्लेख गदै यसको लागि सबैको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो । गत बर्ष जिल्लाको एसईई नतिजा एकदमै कजोर देखिएकाले बिद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि बिद्यालय ब्यबस्थापन समिति, शिक्षक, बिद्यार्थी अभिभावक सबैले आ आफ्नो क्षेत्रबाट भुमिका निभाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया