काठमाडौँ। सभापति थापाले विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको बताउनुभयो । कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जीत व्यहोर्दै आएको उल्लेख गर्दै उहाँले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताउनुभयो ।
“विशेष महाधिवेशनपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा परिणाम आएन, कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ, अब नयाँ महाधिवेशनमा होमिएका छौँ”, सभापति थापाले भन्नुभयो ।
सभापति थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभापति थापाले लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम कांग्रेसले गर्नुपर्ने बताउनुभयो । मुलुकमा लामो राजनीतिक सङ्घर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।
सभापति थापाले मुलुकले लामो समय राजनीतिक सङ्घर्ष र सङ्क्रमण व्यहोरे पनि त्यसको प्रतिफल जनताको दैनिक जीवनमा पर्याप्त रूपमा पुग्न नसकेको उल्लेख गर्दै यसका कारण सबै राजनीतिक दलले मिलेर खोज्नुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रूपान्तरणलाई पनि सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
“यो विषय हामी सबै मिलेर खोज्नुपर्छ, हामी महाधिवेशनमा यही कुरा ‘डेलिभरी’ दिनका लागि के गर्ने, कांग्रेस कस्तो बनाउने भनेर मन्थन गर्नेछौँ”, सभापति थापाले भन्नुभयो ।
कांग्रेसले अब लोकतन्त्रको कुरा मात्रै नगरी जनतालाई परिणाम दिने राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने सभापति थापाले बताउनुभयो । लोकतान्त्रिक व्यवस्था र जनताको अपेक्षाबीचको दूरी घटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उहाँको भनाइ थियो ।
“डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ, पुराना र नयाँ पुस्तालाई जोड्ने काम कांग्रेसले गर्छ, यही सङ्कल्प गर्छ”, सभापति थापाले भन्नुभयो ।
प्रतिक्रिया