काठमाडौँ । सभापति थापाले कांग्रेस कमजोर वा निष्क्रिय हुँदा लोकतान्त्रिक व्यवस्था र जनताबीचको विश्वासमा असर पर्नसक्ने बताउनुभयो । कांग्रेसले आफूलाई जनताको आवश्यकता र अपेक्षासँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
“आजको दिनमा नेपाली कांग्रेस बन्द भयो भने के हुन्छ भन्ने कुरा जनताले सोच्नुपर्ने बनाउने काम गर्नुपर्छ, पुल ढल्यो भने विश्वास ढल्छ, त्यो विश्वासका लागि कांग्रेसले काम गर्नुपर्ने छ”, सभापति थापाले भन्नुभयो ।
कांग्रेसले आफ्नो राजनीतिक सिद्धान्त र मूल्यमा स्पष्ट भएर अघि बढ्नुपर्ने सभापति थापाले बताउनुभयो । तत्कालको राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्ने प्रवृत्तिबाट पार्टी टाढा रहनुपर्ने उहाँको भनाइ थियो । आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्र तथा उद्योगी व्यवसायीको भूमिकालाई सम्मान गर्नुपर्ने उहाँले बताउनुभयो ।
सभापति थापाले निर्वाचन आउने र जाने भए पनि त्यसको महत्वलाई बेवास्ता गर्न नहुने बताउनुभयो । निर्वाचनको परिणाम महत्वपूर्ण भए पनि तत्कालको चुनावी लाभभन्दा दीर्घकालीन रूपमा देश र जनताको हितमा काम गर्ने राजनीतिक संस्कार आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
सभापति थापाले १५औँ महाधिवेशनलाई कांग्रेसको नेतृत्व परिवर्तन गर्ने मात्रै नभई पार्टीको आगामी राजनीतिक दिशा, नीति र जनतालाई परिणाम दिने क्षमताबारे गम्भीर मन्थन गर्ने अवसरका रूपमा अघि बढाउने बताउनुभयो । उहाँले कांग्रेसका केही साथीहरू पार्टीबाट बाहिरिएको उल्लेख गर्दै उहाँहरुलाई कांग्रेस छाडेको हो कि होइन भन्ने विषयमा पनि अब स्पष्ट उत्तर दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र रहेका सबैलाई समेट्ने र बाहिरिएका नेताहरूका सम्बन्धमा पनि स्पष्ट धारणा बनाइने बताउनुभयो ।
सभापति थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र सङ्कल्प लिएर बाहिरिनुपर्ने बताउनुभयो । उहाँले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताउनुभयो ।
“रसुवाको भोटेकोशीमा गएको बाढीका कारण हजारौँ नागरिक हामीमाझ हुनुहुन्न । यो महाधिवेशन गर्न मन थिएन । तर संविधान र कानुनको परिधिका कारण गर्न बाध्य भयौँ”, सभापति थापाले भन्नुभयो ।
प्रतिक्रिया