काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले प्रस्तुत गरेको बजेट यथार्थपरक र कार्यान्वयनयोग्य रहेको बताउनुभयाे ।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालय तथा आयोगका शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्रीको ध्यान बजेटको प्रभावकारी कार्यान्वयनतर्फ जानुपर्नेमा जोड दिनुभयो।
नेता कार्कीले पटक-पटक राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उल्लेख गर्नुभयो।
“संसदमा मात्र होइन, बाहिर पनि विकास किन भएन भन्ने आवाज उठिरहेको छ,” उहाँले भन्नुभयो, “पटक-पटक व्यवस्था परिवर्तन गरिए पनि जनताको अवस्था जस्ताको तस्तै छ भन्ने गुनासो सार्वजनिक रूपमा आएको छ।”
उहाँले दीर्घकालीन सोचसहितको विकास योजनाका लागि सबै राजनीतिक दलहरूको साझा प्रतिबद्धता आवश्यक भएको धारणा राख्नुभयो।
निराशा र जनचासो खोज्ने अभिव्यक्तिबाट मात्र मुलुकको समुन्नति सम्भव नभएको उल्लेख गर्दै उहाँले राजनीतिक तथा नीतिगत स्थिरता, नेतृत्वको इच्छाशक्ति, दीर्घकालीन सोच र स्रोतको समुचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।
पूर्वमन्त्री कार्कीले निजी क्षेत्रको करिब ८० प्रतिशत लगानीलाई प्रोत्साहन गर्दै ऊर्जा, कृषि र पर्यटनजस्ता प्राथमिक क्षेत्रहरूमा सुरक्षित लगानीको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
साथै, ‘टेक एण्ड पे’को व्यवस्थाले ऊर्जा क्षेत्रलाई जोखिममा पार्न सक्ने भन्दै यसलाई पुनर्विचार गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद तारा लामा तामाङले बजेटले राष्ट्रको दिशानिर्देशन स्पष्ट पारेको भन्दै प्रस्तावित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभएको छ।
प्रतिक्रिया