प्युठान। गत बुधबार थवाङ गाउँपालिका–५ कोटलबारामा गएको पहिरोको घटना सेलाउन नपाउँदै रोल्पामा फेरि पहिरो गएको छ।
सुनछहरी गाउँपालिका–२ का फलबाङ र डिप्चेमा बिहीबार राति गएको पहिरोले घर पुरिनुका साथै केही व्यक्ति बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार स्थानीयबाट प्राप्त जानकारीअनुसार फलबाङमा पहिरोले एउटा घर पुरिएको छ। उक्त घरमा श्रीमान्–श्रीमती बस्दै आए पनि पहिरो गएको समयमा उनीहरू छिमेकीको घरमा गएर बसेका कारण ज्यान जोगिएको बताइएको छ।
सोही स्थानमा तीन जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै, सुनछहरी गाउँपालिका–२ कै डिप्चेमा पनि पहिरोले घर पुरिएको र तीन जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ। डिप्चेमा एक जनाको शवसमेत फेला परेको स्थानीयबाट जानकारी आएको प्रहरी निरीक्षक श्रेष्ठले बताएका छन्।
घटनाबारे स्थानीयले प्रहरी निरीक्षक श्रेष्ठलाई जानकारी गराएका हुन्। प्राप्त सूचनाका आधारमा दुवै घटनास्थलतर्फ प्रहरी टोली जाँदै छ।
घटनास्थलमा प्रहरी टोली पुगेपछि मात्रै मानवीय तथा भौतिक क्षतिको यकिन विवरण प्राप्त हुने बताइएको छ।
साउन २८ गते थवाङमा गएको पहिरोको खोजी तथा उद्धारकार्य जारी रहेकै बेला सुनछहरीमा अर्को पहिरोको घटना भएको हो।
प्रतिक्रिया